टी.पी. भुसाल,काठमाडौं । आज नेपालको सांस्कृतिक र धार्मिक जीवनमा विशेष महत्व राख्ने चाड दशैं । २०८१ सालको दशैं पनि सबैको घर आगनमा आइसकेको छ । हरेक वर्ष आश्विन महिनामा आउने यो चाडले नेपालभरिकै जनजीवनमा एक प्रकारको उत्साह, उमंग र आनन्द ल्याउँछ ।प्राकृतिक विपत्ती र यातायातको कठिनाइका बाबजुद पनि मानिसहरु दशैं मनाउन आफ्नो थातथलोमा पुगेका छन् ।
परम्परागत रूपमा दुर्गा माताको उपासना र विजयको प्रतीकका रूपमा मनाइने यो चाडलाई परिवारको मिलन, टीका, जमरा, दुर्गा पूजासँगै दशैं हरेक नेपालीको हृदयमा गहिरो असर पार्छ । तर, समयसँगै दशैं मनाउने तरिका, पारिवारिक सम्बन्ध र समाजको संरचना परिवर्तन हुँदै गए पनि यसको यादले मानिसलाई सधैं भावुक बनाउँछ । यही भावुकता नै दशैं नोस्टाल्जियाको कारण हो शायद ।
अहिले एकै कुल घरका मानिसहरू प्रायः छुट्टिए बसेका छन् । कोही शहरमा त कोही विदेशमा । बसाई सराईको पछिल्लो प्रवृतिले खासमा भन्ने हो भने आफ्नो पुरानो थातथलोमा दशैं मनाउनेहरु कम हँदै गएका छन् । अब दशैंमा टीका लगाउन टाढा भएका परिवारजनहरूलाई भेट्न पाइँदैन ।
बाल्यकालको दशैं सम्झिँदा मनमा छुट्टै खुशी आउँछ । गाउँको खुला वातावरण, हराभरा खेत, बारी, र आकाशको नीलोपनले त्यो समयको दशैंलाई अझ रमाइलो बनाउँथ्यो । रोजगारीबाट घर फर्किएका लाहुरेहरु ,घरघरमा मासु पकाइरहेको गन्ध, ठूला मान्यजनको हातबाट टीका थाप्ने र दक्षिणा पाउने क्षणहरू अझै पनि मस्तिष्कमा ताजै छन् ।
बाल्यकालमा नयाँ कपडा लगाउने, रातो टीका र जमरा लगाएर ढोग्ने, दिदी–भाइबीचको रोटी–बेटी सम्बन्धलाई अझ बलियो बनाउने क्षणहरू निकै उत्साहजनक हुन्थे । घरमा, छिमेकमा टिका लगाएर मावली गाउँसम्म जान पाए त्यो दशैंको रौनक बेग्लै हुन्थ्यो । तर आज, दशैंलाई सम्झिँदा, एउटा फरक अनुभूति हुन्छ ।
एकातिर आफुभन्दा ठूलाबडाको अनुपस्थिती र अभाव अर्कोतर्फ आधुनिक शहरको व्यस्त जीवनले ती पुराना रमाइला क्षणहरू फिर्ता ल्याउन नसक्ने रहेछ ।गाउँको त्यो सादगीपन, प्राकृतिक सुन्दरता र पारिवारिक सम्बन्धको प्रगाढता समयसंगै आजको दशैंमा हराउन थालेको प्रतित हुन्छ ।
बाल्यकालको त्यो निराकार आनन्द, जसमा आत्मीयता, स्नेह र प्रेम थियो, अहिलेको दशैंमा यथार्थभन्दा बढी स्मृतिमा सीमित छ । दशैं अघि गाउँमा झारा लगाएर (गाउँका सबै मानिसहरु भेला भई निःशुल्क रुपमा सामाजिक कार्य गर्ने परम्परा) बाटो सरसफाई गर्ने ,चौतारो मर्मत गर्ने कार्य देखि नै गाउँमा दशैको रौनक शुरु भएको महशुस हुन्थ्यो ।
प्रतिस्पर्धा र देखासिकीको प्रभाव
आजको दशैंमा प्रतिस्पर्धा र देखासिकीको प्रभाव बढी देखिन्छ । मानिसहरू धेरै महँगा कपडा, गहना र सजावटको कुरा गर्छन् । पहिलेको जस्तो साधारणता र भावनात्मक सन्तुष्टि अहिलेको दशैंमा कम जस्तो लाग्छ ।
डिजिटल दुनियाँमा, सामाजिक सञ्जालमा पोष्ट गर्नका लागि फोटो खिच्ने र टीका लगाउने मात्र एउटा प्रचलन बनेको छ । यस अर्थमा पछिल्ला दशैंहरु भावना कम देखावटीपन बढि भएको पाइन्छ ।तर, चाहे समय कति पनि बदलिएको होस्, दशैंको सांस्कृतिक र पारिवारिक महत्व भने स्थायी छ ।
दशैंले हामीलाई हाम्रो मौलिकता र जरा सम्झाउँछ, परिवार र समाजसँगको सम्बन्धलाई नयाँ ढंगले बुझ्न र महसुस गर्न सिकाउँछ । हामी जहाँ भए पनि, दशैंको सम्झनाले हामीलाई घर फर्काउँछ—त्यो घर जहाँ प्रेम, अपनत्व, र आत्मीयता भरिएको थियो ।
भौतिक निकटता भित्र आत्मियताको खडेरी
दशैंको यो परिवर्तन र बाल्यकालको सम्झनाले मलाई हरेक वर्ष दशैं नजिकिँदै गर्दा एक प्रकारको भावुकता उत्पन्न गराउँछ । सायद यो समयको प्रभाव हो, सायद प्रविधिको, तर जे भए पनि, ती पुराना दिनहरूको मिठास सधैं ताजा रहन्छ । दशैंका ती पुराना दिनहरूको सम्झनाले अहिले बसेको ठाउँबाट हुत्याएर आफ्नो गाउँघर पु¥याउँछ ।
दशैंको त्यो मिठास, त्यो पारिवारिक मिलन, र त्यो सादगी—यिनै यादहरू हुन् जसले दशैंलाई जीवनभरका लागि विशेष बनाउँछ । तर दशैंका पछिल्ला केही वर्षहरु अलिक निरस लाग्न थालेका छन् । अभिभावक गुमाएका पीडाले मन नमिठोसंग कुडिँन्छ ।
दशैं एक चाड मात्र होइन रहेछ; यो त एक समय यात्रा रहेछ । दशैंमा बुबाले किनिदिएको एकजोर कपडा आज आफैले गरेको हजारौं रुपियाको सपिङ भन्दा महत्वपूणर् लाग्दो रहेछ । बुबाको खटनपटनमा आमाले तयार पारेको भान्सा पाँचतारे होटलको खान्की भन्दा अब्बल हुने रहेछ ।
शहरका यी सम्बन्ध जहाँ भौतिक निकटता भित्र आत्मियताको खडेरी छ । देख्दा मानिसहरुको साथ छ तर विश्वास छैन् । गाउँका ती सम्बन्ध जो भौतिक वा भौगालिक रुपमा टाढा भए पनि आत्मिय,निकट र विश्वासिला थिए ।
दशैं, नेपालका लाखौं मानिसहरूको लागि हर्षोल्लास र परिवारको मिलनको चाड हो । तर, समयको दौडमा, दशैंले बाल्यकालका ती मीठा पलहरूको याद दिलाउँछ जुन अब केवल सम्झनामा मात्र बाँकी छन् ।
सहरको व्यस्त जीवन र आधुनिकताको चापले गर्दा बाल्यकालको सादगी र मस्ती अहिलेको दशैंमा हराएको जस्तो लाग्छ । यही परिवर्तित समय र पुराना सम्झनाहरूको मेल नै ’दशैं नोस्टाल्जिया’को अनुभव हो ।
बा पुस्ता र कम्तीमा हामीले बाल्यकालमा बिताएका दशैंहरू सधैं विशेष थिए जस्तो लाग्छ । गाउँको वातावरण, खुला आकाश, हराभरा खेत, र चाडपर्वको त्यो प्राकृतिक र पारिवारिक मिजास आज पनि स्पष्ट सम्झना बनेर आउँछन् ।तर, समयसँगै दशैंको परिभाषा बदलिँदै गयो ।
गाउँको दशैं अहिलेको शहरी जीवनको दशैंभन्दा निकै फरक थियो । अहिले, जहाँसुकै जाउँ, बजारमा चहलपहल हुन्छ, महँगा गाडीहरू दौडन्छन्, र मानिसहरू मोबाइल र क्यामेरामा व्यस्त देखिन्छन् । बाल्यकालको त्यो सादगी अहिलेको दशैंमा हराएको छ ।
पुराना साथीहरू, जो दशैंमा मिलेर पिङ खेल्थ्यौं, अब कतै टाढा छन् । कोही विदेशमा त कोही आफ्नो जीवनका अन्य व्यस्ततामा ।आजको दशैंमा सम्झनाका ती पुराना पलहरू मात्रै छन्, जुन मनमा एक प्रकारको नोस्टाल्जिया पैदा गर्छन् ।
दशैंको रमाइलो, नयाँ कपडाको खुशी, टीका लगाएर बुवाको हातबाट आशीर्वाद पाउनु—यी सबै यादहरू अहिले फगत स्मृतिमा सीमित छन् । त्यो परिवारको सँगै बस्न पाउने, सँगै हाँस्न पाउने, र सँगै दशैं मनाउने अवसर अहिलेको जीवनमा खास गरेर अभावमा बदलिएको छ ।
जब म अहिले दशैं मनाउँछु, त्यही पुराना पलहरू सम्झिएर मुस्कुराउँछु । ती दिनहरूमा कुनै प्रतिस्पर्धा थिएन, कुनै देखासिकी थिएन—थियो त केवल सादगी, स्नेह, र परिवारको साथ। दशैंले मलाई ती पुराना दिनहरू सम्झाउँछ, जसले बाल्यकाललाई विशेष बनायो, र जसले अहिले पनि जीवनमा एउटा गहिरो छाप छोडेको छ ।
अन्तमा, दशैं नोस्टाल्जिया भनेको केवल पुरानो दशैंको सम्झना मात्र होइन । यो एउटा अनुभव हो, जसले हामीलाई जीवनको सादगी, स्नेह, र पारिवारिक सम्बन्धको वास्तविक महत्व सम्झाउँछ ।
चाहे दशैं जति नै बदलिएको होस्, त्यसको आत्मा भने कहिल्यै परिवर्तन हुँदैन । यो पटक पनि मेरोे परिवारमा दशैं छैन् । र पनि सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा दशैंका मंगलमय शुभकामना ।