काठमाडौं । संस्थागत तथा निजी विद्यालय तथा महाविद्यालयमा कार्यरत प्राध्यापक/ शिक्षक/कर्मचारीहरुको पेसागत संस्था निस्टाको पाचौं स्थापना दिवसको अवसरमा राष्ट्रव्यापी बृहत् खुला कविता प्रतियोगिता हुने भएको छ ।
"निस्टा आवाज: सृजनामा श्रम" आवाज भन्ने मुल नाराका साथ यहि आश्विन १६ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा प्रतियोगिता हुन लागेको हो । कविता प्रतियोगितामा निस्टाले केहि सर्त तथा नियमहरु राखेको छ ।
कविता प्राध्यापक,शिक्षक एवं आम श्रमिकहरुको कर्तव्य र अधिकार, श्रम चेतना, श्रम सम्वन्ध,ट्रेड युनियन आन्दोलनको अभ्यास,ट्रेड युनियन संस्कृति जस्ता बिषयक्षेत्रभित्र रहेर शास्त्रीय लोक वा मुक्त लय ढाँचामा मौलिक हुनुपर्ने छ। प्रतियोगिता अवधिसम्म कविता अन्य ठाँउमा प्रकाशन,प्रसारण नभएको हुनुपर्ने सर्त रहेको छ ।
कविता पठाउदा प्रीति/ युनिकोड फन्टमा टाईप गरि हालसालैको एकप्रति पासपोर्ट साईजको फोटो तथा परिचय सहित पठाउनु पर्ने नियम छ ।
निर्धारित समयभित्र प्राप्त भएका कविताहरुलाई निर्णायक मण्डलद्वारा मुल्याङ्कन गराई कविहरुको सङ्क्षिप्तसूची प्रकाशित गरिने जनाईएको छ ।
साथै निर्णायक मण्डलद्वारा वाचनका लागि छनौट भएका कविहरुलाई असोज १६ गतेको अन्तिम प्रतियोगितामा सहभागि गराइने निस्टाले जनाएको छ ।कविता वाचनका लागि छनौट भएका उपत्यका बाहिरवाट आउनुपर्ने कविहरुलाई आवगन तथा वासस्थानको सुविधा पनि रहेको छ ।
साथै,विदेशवाट कविता पठाई छनोटमा पर्नुभएका कविको कविता प्रविधिको प्रयोगद्वारा प्रत्यक्ष वाचन गराईने छ । अन्तिम प्रतियोगिताका लागि छनोट भएका र अन्य उत्कृष्ट कविताहरु समावेश गरी संग्रहका रुपमा कृति प्रकाशित पनि हुने भएको छ ।
कविता अशोज ८ गते बेलुका १२ बजेभित्र nista2077@gmail.com मा ईमेल ठेगानामा पठाउनुपर्ने छ । छनोट भएका कविताबाट वाचन सहितको मुल्यांकन गरि चार जना कविहरुलाई पुरस्कार प्रदान गरिने भएको छ ।
प्रथम पुरस्कार एक जनालाई नगद रु ५० हजार तथा प्रमाणपत्र रहने छ । यसैगरि द्वितीय पुरस्कार एक जनालाई नगद रु ३५ हजार तथा प्रमाणपत्र र तृतीय पुरस्कार दुई जनालाई रु २० हजार तथा प्रमाणपत्र रहेको निस्टाले जनाएको छ ।
निस्टाका अध्यक्ष भोलानाथ चालिसेका अनुसार प्रतियोगिताबारे थप केही जानकारी लिनुपरेमा कोशी प्रदेशमा किरण कोइराला, मधेस प्रदेशमा महादेव कुश्वाहा, वागमतीमा देवकान्त काफ्ले, गण्डकीमा उदय नेपाली, लुम्बिनीमा विष्णुप्रसाद भण्डारी, कर्णालीमा यामराज गिरी र सुदूरपश्चिममा डा. योगेन्द्र बजगाईँलाई सम्पर्क गर्न सकिने छ ।

