काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप २१ जना कोरोना भाइरस संक्रमितको मृत्युु भएको छ । योसँगै हालसम्म ११ सय आठजनाको संक्रमणबाट मृत्युु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १२ हजार ३११ जनाको परीक्षण गरिएकोमा देशभरमा थप २ हजार ८१७ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुुभएको हो ।
योसँगै सक्रिय संक्रमितको सख्या देशभरमा ३५ हजार ४१९ पुुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ८१२ कोरोना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।
यसैबीच, सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् ।
संक्रमितमध्ये ३९८ जनाको आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सरकारले असक्त, अपांगता भएका तथा जेष्ठ नागरिकबाहेक अन्यको उपचारमा शुल्क लिने निर्णय गरेसँगै चर्को शुल्क लाग्ने भएपछि संक्रमितहरु होम आइसोलशेनमै बस्न थालेका हुन् ।