काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले उपसभामुखविरुद्धको आवाज उदण्डता बाहेक अरु केहि नभएको बताउनुभएको छ ।
उपभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र एमालेको तयारी दुई ठुला पार्टी हौँ भन्ने नेतृत्वको उदण्डताबाहेक अरु नभएको तर्क गर्दै यो एक किसीमको तानाशाही भएको सम्मानित नेता खनालले आरोप लगाउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सम्मानीत नेता खनालले एक महिला उपसभामुख भएर काम गरिरहेको अवस्थामा केहि स–साना त्रुटी नै भए पनि छलफल गरेर समाधान गर्ने तरिका अनेक हुन सक्ने स्पष्ट पार्नुभयो ।
यस्तै नेता खनालले अहिले उपसभामुखलाई जुन तरिकाले आरोप लगाइएको छ ती भन्दा ठुला कांग्रेस र एमालेले गरेका गलत कामहरुले देशको शिर निहुरिएर आएको आरोपसमेत लगाउनुभयो ।
तीनै गल्ती गरेर देशलाई बर्बाद र शिर निहुराउनेहरुले नै अहिले सामान्य गल्तीको आधारमा उपसभामुखलाई आरोप लगाउनु सिंगो देशको लागि लज्जाको विषय भएको उहाँको भनाइ छ ।
यस्तै आफ्नो पार्टी नेकपा एस यो कुराको विरोधमा रहेको समेत नेता खनालले बताउनुभयो । अर्को प्रसंगमा उहाँले उपमहासचिव मेटमणि चौधरीको अभिव्यक्ति प्रति कडा आपत्ती जनाउनुभएको छ ।
यहि भदौ २५ गते प्राइम टिभीमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ भनि दिएको अभिव्यक्तिको अहिले पार्टीभीत्रै आलोचना भइरहेको छ ।
सामान्य सदस्यसमेत रहेकाले भन्न नसक्ने यस्तो विषय पूर्वमन्त्रीसमेत भइसकेका व्यक्तिबाट कसरी आयो भन्नेमा आफू अचम्मीत भएको बताउँदै नेता खनालले यो कुरा देशको लागि अपराधिक कुरा भएको तर्क गर्नुभयो ।
चौधरीलाई पार्टीले तीन दिने स्पष्टीकरण सोधिसकेको र यो विषयमा गम्भिर रुपमा निर्णय लिइने नेता खनालको भनाइ छ ।