काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाले आफै राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुपर्ने बताउनुभएको छ ।
राजीनामा दिन्न भन्ने घमण्डले उहाँलाई नै बिगार्ने बताउँदै सभापति खतिवडाले राजीनामा दिएर गल्ती सुधार गर्नु नै हित हुने स्पष्ट पार्नुभयो ।
उपसभामुख रानाले गैरसम्बन्धित र सामान्य चिनजानसम्म नभएका पाँच जनालाई अमेरिका लैजान दूतावासलाई पत्र लेख्नु गम्भीर पदीय दुरुपयोग भएको उहाँको निष्कर्ष रहेको छ ।
यतिमात्रै नभएर उपसभामुख रानाले धेरै प्रकरणमा पदीय आचरणविरुद्ध काम गरेको आरोप लगाउँदै कांग्रेस नेतासमेत रहनुभएका सभापति खतिवडाले अब उपसभामुख जस्तो गरिमामय पदमा राना रहन योग्य नरहेको टिप्पणी गुर्नभयो ।
यता उपसभामुख रानाले भने राजीनामा नदिने अडान लिनुभएको छ भने रास्वपाले पनि यसबारेमा प्रतिक्रिया दिँदै यसले सत्तापक्षलाई नै नोक्सानी हुने चेतावनी दिएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सभापति खतिवडाले संसदमा प्रस्तुत भएर आट देखाएर आफ्नाविरुद्ध आएका कुराहरुबारे प्रस्ट पार्नुपर्ने पनि सुझाव दिनुभयो ।
रानाले उपसभामुख पदबाट राजीनामा दिए सबैलाई फाइदा हुने पनि सभापति खतिवडाको भनाइ छ । गलत गर्ने मान्छेलाई सम्माननीय पदमा रहन नदिने समेत उहाँको चेतावनी रहेको छ ।