काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
गएराति पाल्पाको जाल्पा, कुमलगाउँ, गन्डाकोट, र आसपासमा भारी वर्षा मापन भएको छ । यसैगरी कपिलवस्तु, रुपन्देही, प्युठानमा पनि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
यस्तै, कैलालीको टिकापुर, बलिया, बचिला क्षेत्रमा पनि भारी वर्षा भएको छ । बागलुङ र सिन्धुपाल्चोकमा भारी वर्षा भएको महाशाखाले जनाएको छ । यी क्षेत्र भई बहने नदी तथा खोलामा बाढी र होचा भेगमा डुबानको जोखिम भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राति पनि देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।