एजेन्सी । राष्ट्रपति चयनका लागि भएको निर्वाचन अन्तर्गत अमेरिकामा अहिलेसम्म छ राज्यको मतगणना भइरहेको छ । कुल ५० राज्य मध्ये ४४ राज्यको गणना सम्पन्न भइसकेको र त्यसका आधारमा राष्ट्रपतिका उम्मेदबार जो वाइडेन अगाडि रहनु भएको छ ।
उहाँले अहिलेसम्म २६४ इलोक्टोरल मत पाउनु भएको छ भने अर्का प्रतिश्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलोक्टोरल मत मात्रै प्राप्त गर्नुभएको छ । अहिले गणना भइरहेका छ मध्ये चार राज्यमा वाइडेन अगाडि हुनुहुन्छ भने दुई राज्यमा मात्रै ट्रम्पको अग्रता रहेको छ ।
सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भेनियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पार्नु भएको छ । अहिले गणना भइरहेका छ मध्ये यो पेन्सिल्भेनियामा मात्रै विजयी भएपनि वाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुहुनेछ ।
अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलोक्टोरल मत चाहिनेमा पेन्सिल्भेनियामा मात्रै जितेपनि वाइडेनको कुल २७३ इलेक्टोरल मत हुनेछ ।
पेन्सिल्भेनिया राज्यका निर्वाचन अधिकारीहरूले दिएको ताजा मतगणना विवरणअनुसार ९८ प्रतिशत मतगणना सकिँदा बाइडेन पाँच हजार ५८७ मतले अगाडि रहनु भएको छ ।
त्यस बाहेक नतिजा आउन बाँकी रहेकामध्ये जोर्जिया, नेभाडा र एरिजोनामा बाइडनको अग्रता कायमै रहेको छ । ट्रम्पको अग्रता भने नोर्थ क्यारोलाइना र अलास्कामा मात्रै रहेको छ । त्यसैगरी अब गन्न बाँकी हुलाकमार्फत आएका मतमा पनि बाइडेनको अग्रता कायमै रहन सक्ने आकलन गरिएको छ ।
अहिलेसम्मको अवस्थालाई हेर्दा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुने संभावना लगभग सकिएको धेरैले दावी गरेका छन् । तर ट्रम्प पक्षले भने निर्वाचनको अन्त्य सम्ममा आफुहरुले नै जित्ने दावी गर्न छाडेका छैनन । आफु पराजित हुने देखेपछि प्रतिश्पर्धामा रहनु भएका बर्तमान राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको दावी गर्दै आउनु भएको छ ।
मतदान र मतगणनामा धाँधली भएको भन्दै उहाँले तत्काल मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिनुभएको थियो । तर उहाँको उजुरीहरु अदालतले खारेज गरिदिएको छ । उहाँले लगाएको आरोप पुष्टि गर्नेगरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्धारा दर्ता गरिएको उजुरी खारेज गरिदिएको अदालतले जनाएको छ ।
अन्तिम नतिजा आउनै लाग्दा उहाँले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उहाँको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा रिपब्लिकनहरूहरुलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ ।
अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिएको छ । अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने गर्दछ। त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरी २० मा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।