काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग १० घण्टा धेरै बयान लिएको छ । समितिको कार्यालय सिंहदरबारमा राति १ बजेसम्म सोधपुछ चलेको हो ।
समितिका सभापति सूर्य थापाका अनुसार तत्कालीन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेसँग बयान लिएको हो ।
बयानका क्रममा लामिछानेलेले आफ्नो कुनै पनि संलग्नता नभएको स्पष्ट पार्नुभएको सभापति थापाले बताउनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले अहिले नै बयानका क्रममा सोधिएका प्रश्न र जवाफहरुबारे सबै बताउन नमिल्ने स्पष्ट पार्नुभयो तर सम्रगमा पुर्वगृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा आफू कहिकतै पनि नजोडिएको दाबी गर्नुभएको छ ।
हिजो नै बयान लिइएका गोरखा मिडिया नेटवर्कका सञ्चालकसमेत रहेका छविलाल जोशीसँग र अर्का जीवि राईलाईमाथि लामिछानेले कुनै पनि दोषहरु नथुपारेर व्यक्ति र संस्थासँग जोडिएका लगायतका विषयमा सबै जवाफ दिएको थापाको भनाइ छ ।
गोरखा मिडिया नेटवर्कमा लामिछानेको स्थापनाको समयमा ५० प्रतिशत शेयर लगानी र पछि ३५ प्रतिशत लगानी रहेको लामिछानेले स्विकारेको सभापति थापाले बताउनुभयो ।
सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो ।
७ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान छन् । समितिको तीन महिने समयाअवधि यही भदौ २३ गते सकिँदैछ भने समितिले हालसम्म जेलमा रहेका १८ सहित ३६ जनाको बयान लिइसकेको छ ।