काठमाडौं । नेकपा एमालेका नेता लीलानाथ श्रेष्ठले वर्तमान सरकारले जनताको माग र विकाशका लागि काम गर्नैपर्ने बताउनुभएको छ ।
संसदका दुई ठुला दल कांग्रेस र एमाले समिकरणको गठबन्धन सरकारलाई काम नगर्न छुट नै नभएकाले देश र जनतालाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने उहाँको भनाइ छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका श्रेष्ठले सरकारमा रहेका मन्त्रीहरुले यदि काम गर्न सक्दैँनन् भने मन्त्रीपरिषद्बाटै बाहिरिनुपर्ने बताउँदै जनता भन्दा ठुलो अरु केहि नभएको र मान्न नहुने पनि स्पष्ट पार्नुभयो ।
यस्तै, नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले रातीसम्म पनि जागेर काम गरेको स्वयम् आफूले देखेकाले पनि अहिलेको सरकारबाट धेरै आस र विश्वास गर्न सकिनेमा जोड दिनुभयो ।
मन लगाएर काम गर्ने हो भने असंभव कुरा केहि पनि नभएकाले सरकारमा रहेका सबै मन्त्रीहरुले मन र कर्तव्यबोध भएर काम गर्नुपर्ने सुझाव दिँदै नेता श्रेष्ठले अहिले इमान्दार र मनले काम गर्ने मन्त्री भने थोरै भएको स्पष्ट पार्नुभयो ।
पदमा बसेर सेवासुविधा लिनेमात्रै छुट नभएकाले सबै मन्त्रीहरुले अब तनमन लगाएर काम गर्नैपर्ने उहाँको भनाइ छ । यस्तै वर्तमान सरकारले जनतालाई निराश नबनाउने पनि उहाँको विश्वास रहेको छ ।