काठमाडौं । पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । बिहीबार अर्थ समितिमा बोल्दै डा. महतले सेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेन्ट नै जारी भएको बताउनुभयो ।
‘मैले सेयर बजार बढ्यो बढ्नु हुँदैनथ्यो कतै भनेको छैन । तर, म विरुद्ध केही माननीय ज्यूहरू नै लागेको पाएँ’ डा. महतले भन्नुभयो, ‘संसद्मा बोलेको कुरालाई लिएर, कुनै कम्पनी संस्थाको विषयमा बोल्ने कुरा होइन तर आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गर्ने हाम्रो जिम्मेवारी हो । केही कम्पनीहरूको सेयर अस्वाभाविक बढ्यो, यसको वास्तविकता के हो ? कम्पनीको वित्तीय स्थिति के छ हेरौँ ।’
आफूले भनेको तर बजारमा लगानीकर्ताहरूले स्टेटमेन्ट नै जारी गरेको उहाँले बताउनुभयो । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ’ उनले भन्नुभयो। तर, पुँजी बजारले नै मुलुकको अर्थतन्त्र चलेको भन्ने नभएको डा.महतले भन्नुभयो ।