काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको हो ।
दुई नेताबीच पार्टीभित्र देखिएको अन्तरविरोधका विषयमा छलफल भएको बुझिएको छ । समसामयिक विषयमा दुई अध्यक्षबीच छलफल भए पनि ठोस कुरा के भयो भन्ने आइनसकेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारमा देखिएको समस्या, संघीय मन्त्रिपरिषद् पुनर्गठन, पर्सामा भएको नेकपा नेताको हत्या, रअ प्रमुखसँग प्रधामन्त्रीको भेट लगायतका विषयमा दुई अध्यक्षबीच दूरी बढिरहेको छ । उनीहरूबीच पछिल्लो पाँच दिनयता भेटघाट भएको थिएन ।
दुई अध्यक्षबीच बुधबार भेट हुने भनिए पनि पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधनका कारण प्रचण्ड बालुवाटार जानुभएको थिएन । आज बालुवाटार जानुअघि प्रचण्डले बिहान नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गर्नुभएको थियो ।