काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार लेखनाथ पोखरेलले स्थानीय तहमा देखिएको बेरुजुका बारेमा गलत प्रचार भएको दावी गर्नुभएको छ ।
स्थानीय तहमा देखिएको सामान्य प्रक्रियागत बेरुजुलाई पनि उठाउनै नसकिने बेरुजुकै रुपमा हल्ला गरिएको उहाँले टिप्पणी गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको पालिका वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले बेरुजुका बारेमा पुनर्परिभाषा हुनु पर्ने धारणा राख्नुभयो । उहाँले सबै सहकारीलाई स्थानीय तह मातहतमा ल्याउनु पर्ने खाँचो पनि औल्याउनु भयो ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले हिजो आफुहरुसँग गरेको छलफलका क्रममा सबै सहकारीलाई स्थानीय सरकार मातहत ल्याउन सुझाव दिएको पनि उहाँले बताउनुभयो । सरकारीका बारेमा फरक फरक सरकारलाई अधिकार दिँदा अन्यौलता भएको उल्लेख गर्दै उहाँले सहकारी सम्वन्धी सबै अधिकार स्थानीय तहलाई दिएमा सहकारी सम्वन्धी विक्रितीहरु पनि न्युन हुने दावी गर्नुभयो ।
उहाँले विपद्को पुर्व तयारीका लागि स्थानीय सरकारले अपेक्षित संवेदनशीलता र प्राथमिकता नदेखाएको स्विकार गर्दै कतिपय राम्रा अभ्यासहरु पनि स्थानीय सरकारले गरिरहेको बताउनुभयो । उहाँले हिजो नै आफूहरुले स्वास्थ्यमन्त्री प्रदिप पौडेललाई भेटेर औषधी खरिद सम्वन्धी दोहोरो व्यवस्था हटाउनु पर्ने सुझाव दिएको पनि बताउनुभयो ।
सल्लाहकार पोखरेलले निःशुल्क पाउने औषधी सबै स्थानीय अस्पतालमा पाइने व्यवस्थाका लागि मन्त्री पौडेलले चासो राखेको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेविकाहरुका बारे पनि चिन्ता र चासो व्यक्त गर्नुभएको थियो ।
मेरो स्वास्थ्यका लागि मेरो स्थानीय सरकार नै सक्षम छन भन्ने सन्देश दिन सकिनेगरी संघीय सरकारले स्थानीय सरकारलाई श्रोत साधन र अधिकार सम्पन्न गराउनुपर्नेमा पदाधिकारीहरुले जोड दिनुभएको थियो ।
स्थानीय सरकारका प्रतिनिधिहरुलाई स्वास्थ्यमन्त्रीले पहिलो पटक बोलाएर छलफल गरेको भन्दै सल्लाहकार पोखरेलले स्वास्थ्यमन्त्री पौडेलको प्रशंसा पनि गर्नुभयो ।