काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवसको अवसरमा श्रद्धाशुमन व्यक्त गर्नुभएको भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पुष्पलालले स्थापनाकालमा अघि सारेका पाँचवटा कुराहरू क्रमिकरुपमा पुरा हुँदै गएको दाबी गर्नुभएको छ । उहाँले अब यो देशमा समाजवाद स्थापनाको काम बाकी रहेको भन्दै यसको दिशामा अघि बढेको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता खनालले एमालेको नेतृत्वले पुष्पलालको मिसनलाई छोडिसकेकोले अब नेकपा एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादी कार्यक्रममार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ धरातलबाट एकताबद्ध गर्ने दाबी गर्नुभयो ।
उहाँले अहिले कांग्रेस र एमाले सत्ताको लुछाचुँडीमा लागेको भन्दै उनीहरूसँग आम जनताको समस्या समाधान गर्ने कुनै नीति नरहेको जिकिर गर्नुभयो । नेता खनालले जतिबेला नेकपाको दुई तिहाइको सरकारलाई जोगाउन सकिएन त्यहीँ बेलादेखि केपी शर्मा ओली राजनीतिकरुपमा असफल भइसकेको दाबी गर्नुभयो । उहाँले एमालेभित्रका धेरै नेता कार्यकर्ताहरू समाजवादको पक्षमा रहेको बताउँदै अब सबै कम्युनिष्टहरू एकताबद्ध भएर कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले एकताबद्ध गर्नुपर्ने र शक्तिशाली पार्टी निर्माण गरेर देशलाई समाजवादी दिशामा अगाडि बढाउनु नै पुष्पलालप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।