काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीअनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।
बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले बिक्री गर्ने वातावरणमैत्री आवासीय घरहरू खरिद गर्न चाहने ग्राहकलाई तीन कार्यदिनभित्र सरल र सहज कर्जा प्रवाह गर्ने जनाएको छ।
यसका साथसाथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रा.लि.ले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रूपमा समेत रहने बैंकले जनाएको छ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका तर्फबाट सञ्चालक बेंकटेस मुन्दराले हस्ताक्षर गर्नुभएको छ।
बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा सात वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कुल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १.७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।