काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गर्नसके दिगो हुने बताउनुभएको छ । पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले २०७४ सालमा एमालेसँग एकता गरेर कम्युनिष्टहरुलाई एकजुट बनाउने प्रयास गरे पनि सफल नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पछिल्लो चोटी माओवादी आन्दोलनमा विभाजन भयो । किनकि सबैभन्दा बढी अगाडि बढेको आन्दोलन थियो । जसरी पुष्पलाल अगाडि बढेर पार्टी बनाउनुभयो, तर घेराबन्दी त्यही सुरु भयो । सबैभन्दा पहिला त्यस्तो हुनु स्वाभाविक हो ।’
प्रधानमन्त्री प्रचण्डले अहिले राष्ट्र र जनताको पक्षमा राम्रो नियतका साथ समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
दोष जति सबै अर्काको थाप्लोमा हाल्दिने, तर आफू चाहिँ दूधले नुहाएको जस्तो प्रवृत्ति देखाउनाले कम्युनिष्टहरु एकताबद्ध हुन नसकेको उहाँको तर्क थियो । प्रचण्डले कम्युनिष्टहरुको पक्षमा दुई तिहाइ जनमत बनाउन नेतृत्व गर्नेभित्रमा आफू रहेको बताउनुभयो ।