काठमाडौं । माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले देशको सिस्टमले नै भ्रष्टाचार गर्ने ठाउँहरु प्रशस्त छाडिदिएको बताउनुभएको छ । यस्तै उहाँले भ्रष्टाचारमा विशिष्ट पदका व्यक्तिहरुनै बढि जोडिने गरेको बताउनुभएको छ ।
व्यापक मौलाएको भ्रष्टाचार र बेथिती तत्काल नियन्त्रण गर्न सक्ने अवस्था नरहेको पनि नेता खनालको भनाइ रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पुर्वमन्त्रीसमेत रहनुभएका खनालले शुसासन कायम गर्न वर्तमान सरकार मात्रै नभई मुख्य राजनीतिक दल, सामाजिक अभियन्तालगायत सबै एकजुट भएर लाग्नुपर्नेमा जोडसमेत दिनुभयो ।
यस्तै, उहाँले देश र जनताका लागि जति हुनपर्ने हो त्यति काम नभए पनि हुँदै नभएको भने नभएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इच्छाशक्ती सहित दृढ भएर लागिरहेको दाबी गर्नुभएको छ ।
जनताले अनुभुती गर्ने र देख्ने, बुझ्ने गरी परिणामहरु कमै आइरहेको भने उहाँले स्विकार गर्नुभएको छ । मन्त्री, नेता र दलहरुले बोले र प्रतिवद्धता गरेका कुरामा आधा प्रतिशत मात्रै पनि काम गर्ने हो भने जनता निराश हुनुपर्ने अवस्था नआउने उहाँको भनाइ रहेको छ ।