काठमाडौं । प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथिको संसदीय सनुवाइ कात्तिक २७ गते हुने भएको छ । संसदीय सुनुवाइ समितिको बैठकमा छलफलका लागि उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ रोकिएको हो ।
समितिले आज प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । उजुरीकर्तालाई पटक–पटक फोन गरेर सूचित गर्दा र गोरखापत्रमा सार्वजनिक सूचनामार्फत उपस्थित हुन आग्रह गरिए पनि उनीहरु नआएको सभापति कर्णले बताउनुभयो ।
त्यस्तै, समितिका सदस्यहरु देव गुरुङ र निरु पाल कोरोना संक्रमणका कारण बैठकमा उपस्थित नभएकाले केही सदस्यले सुनुवाइ सार्न आग्रह गरेका थिए ।
संसदीय सुनुवाइ समितिका अनुसार अमेरिका र बेलायतका प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध अनियमितता, नीतिगत भ्रष्टाचार लगायतका विषयमा उजुरी परेका थिए । राज्यका विभिन्न निकायमा पटकपटक अवसर पाएका पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडाविरुद्ध तीन उजुरी परेका छन् ।