काठमाडौं । चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् ।
हरेक अस्पतालका आइसियू बेडहरु कोभिड –१९ का बिरामीले भरिएको चिकित्सकहरुको भनाइ छ ।
मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षण देखिएका व्यक्तिहरुलाई घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतम सुझाब दिनुहु्न्छ ।
अस्पतालहरुमा आइसियू बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उहाँले आग्रह गर्नुभयो ।
सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुःख्ने समस्या सामान्य फ्लु भएकाले डराउनुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो ।
सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाहअनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता–दश दिन भित्रमा मौसमी फ्लु निको हुने उहाँले बताउनुभयो ।
मौसमी फ्लुका लक्षण देखिए पनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरै ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उहाँले आग्रह गर्नुभयो ।