Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति फर्केलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

राष्ट्रपति फर्केलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

  • आइतवार, आषाढ २ २०८१

  • 2.4K
    SHARES

  • राष्ट्रपति फर्केलगत्तै मन्त्रीमण्डल हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्नुहुने भएको छ। त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसक्नुभएको छ ।  प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नुभएको हो। 
     
    ‘अहिले राष्ट्रपति स्वदेशमा हुनुहुन्न । उहाँ फर्केलगत्तै मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘असार ७ पछि असार दोस्रो साता पुनर्गठन हुनसक्छ ।’
     
    हाल सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् । अबको मन्त्रीमण्डल हेरफेर र विस्तारमा हालका केही मन्त्री हटाएर मन्त्रालय खाली गर्ने र नयाँलाई समेट्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
     
    यसो गर्दा माओवादी केन्द्र र एमालेका एक एक जना मन्त्री फिर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दा अध्यक्ष ओलीले बजेट पास भएपछि मात्र मन्त्रीमण्डल हेरफेर र पुनर्गठन गर्न सकिने भनेर सहमति दिएको बुझिएको छ । 
     
    दुई नेताबिच भएको सहमति अनुसार माओवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हितराज तामाङ र एमालेबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ । 
     
    मन्त्रीमण्डल पुनर्गठनमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयारीमा हुनुहुन्छ । श्रेष्ठले पर्यटन मन्त्रालय आफूले पाउने गरी प्रधानमन्त्रीसँग छलफल भएको स्वीकार गर्नुभयो।  ‘म भएका छलफल पर्यटन मन्त्रालय हामीलाई दिने कुरा भएको छ’, श्रेष्ठले भन्नुभयो,, ‘असार ७ पछि मन्त्रीमण्डल पुनर्गठन हुने सूचना छ ।’
     
    उहाँले अहिले राष्ट्रपति स्वदेश फर्के लगत्तै मन्त्रीमण्डल पुनर्गठन हुने विश्वास व्यक्त गर्नुभयो ।  ‘राष्ट्रपति फर्केपछि शपथ लिने भन्ने कुरा भएको छ’, श्रेष्ठको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड हुँदै हाल जर्मनी भ्रमणमा रहनुभएको छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


    आइतवार, आषाढ २ २०८१०२:३०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij