Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालुवाटार भन्छ : प्रधानमन्त्रीले प्रचण्डलाई 'फरक–फरक जाने हो त' भनेर सोध्नुभएकै हो

बालुवाटार भन्छ : प्रधानमन्त्रीले प्रचण्डलाई 'फरक–फरक जाने हो त' भनेर सोध्नुभएकै हो

  • आइतवार, कार्तिक १६ २०७७

  • 1.6K
    SHARES

  • बालुवाटार भन्छ : प्रधानमन्त्रीले प्रचण्डलाई 'फरक–फरक जाने हो त' भनेर सोध्नुभएकै हो

    काठमाडौँ – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी विभाजन गरेर अघि बढ्ने चेतावनी दिनुभएको छ।

    हिजो बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मिलेर जान नसक्ने भए अब अलग–अलग बाटो हिँड्न बाध्य हुने चेतावनी दिनुभएको खुलासा भएको हो। प्रचण्डले आज नेकपाको बहुमत सचिवालय सदस्यहरुसँगको बैठकमा प्रधानमन्त्रीले आफूलाई अलग–अलग हिँड्न प्रस्ताव गर्नुभएको बिफ्रिङ गर्नुभएको हो।

    आज प्रचण्ड निवास खुमलटारको बैठकमा नेताहरु माधवकुमार नेपाल झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए। उक्त बैठकमा प्रचण्डले अलग भएर हिँड्न प्रधानमन्त्रीले गरेको प्रस्ताव सुनाउनुभएको थियो।

    प्रधानमन्त्रीले ‘सँगै जान सकिएन, अब अलग–अलग लागौँ’ भनेर प्रस्ताव गर्नुभएको कुरा प्रचण्डले आजको बैठकमा आफूहरुलाई जानकारी गराउनुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो। प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न आफूहरु लागि परेका उहाँले बताउनुभयो।

    यता बालुवाटारले पनि ‘मिलेर जान नसकिने भए अलग बाटो लागौँ’ भनेर प्रधानमन्त्रीले प्रचण्डलाई प्रस्ताव गरेको स्वीकार गरेको छ। तर छलफलका क्रममा व्यक्त भएको उक्त संवादको गलत ब्याख्या प्रचण्डबाट भएको प्रधानमन्त्री निकट नेताहरुले बताएका छन्।

    ओली निकट नेकपाका प्रभावशाली नेता सुवासचन्द्र नेम्वाङले ‘झगडा मिलाउन नसक्ने हो भने फरक फरक जाने हो त’ भनेर प्रधानमन्त्रीले प्रचण्डलाई प्रश्न गर्नुभएको जानकारी दिनुभयो। तर यसको अर्थ पार्टी विभाजन गरौँ भनेर लगाउन नमिल्ने नेम्वाङको जिकिर छ। प्रधानमन्त्री ओली अहिले पनि पार्टी एकताका पक्षमा रहेको उहाँले बताउनुभयो।

    पार्टीमा एकपछि अर्काे गर्दै देखिन थालेका विवादले अब नेकपा एक भएर हिँड्न नसक्ने संकेत नेकपाका महासचिव विष्णु पौडेलले पनि गर्नुभएको छ। आज सामाजिक सञ्जालमार्फत महासचिव पौडेलले नेकपाको एकतामा गम्भीर संकट उत्पन्न भएको जानकारी दिनुभएको छ।

    प्राय पार्टीका विवादबारे मुख नखोल्ने र ठूल्ठूला विवाद समाधानमा महत्वपूूर्ण भूमिका खेल्न सक्ने नेताका रुपमा परिचित महासचिव पौडेलले नै पार्टी एकता गम्भीर संकटमा पुगेको टिप्पणी गर्नुलाई नेकपा विभाजनको संघारको पुगेको रुपमा अर्थ लगाउन थालिएको छ।


    आइतवार, कार्तिक १६ २०७७०७:३०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij