काठमाडौं । देशभर कोरोना भाइरसबाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा ज्येष्ठ नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै आएको छ ।
केही दिनयता दिनभर घाम लाग्ने, राति र बिहान चिसो बढिरहेको छ । अचेल नेपालमा दैनिक १५÷२० जनाको सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु पनि भइरहेको छ । कोरोना सङ्क्रमण र यसबाट हुने मृत्यु बढिरहेका बेला जाडो मौसममा कोरोना सङ्क्रमित दर बढ्ने चिकित्सकहरूले बताएका छन् ।
अन्य देशमा पनि जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको हो । जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने भनाइ चिकित्सकहरूको छ ।
वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले जाडो मौसममा कोरोना भाइरस बढी समय सक्षम रहने भएकाले जोखिमको सम्भावना बढी रहेको बताउनुु भएको छ ।
उहाँले लक्षण देखिनासाथ पीसीआर परीक्षण गर्न सुझाव दिँदै अनावश्यक र हानिकारक उपचार गर्न नहुने सल्लाह दिनुुभएको छ । गोरखापत्र दैनिकबाट