काठमाडौं । नेकपा एस संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरीले सत्ता गठबन्धन ढालेर नयाँ सरकार बनाउने कुनै पनि चलखेल नभएको बताउनुभएको छ ।
पार्टी अध्यक्ष माधव नेपालसँगै प्रमुख प्रतिपक्ष दलको बैठकमा सहभागी हुनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका चौधरीले फरक पार्टीका नेताहरुसँग भेटघाट हुनेबित्तिकै सरकार परिवर्तनको चलखेल भन्न गलत हुने तर्क गर्नुभयो ।
यहि बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रतिपक्ष दलका महन्थ ठाकुर, उपेन्द्र यादवसँगै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपाल र चौधरी पनि सहभागी भएपछि नयाँ गठबन्धनको कसरत भइरहेको भन्ने राजनीतिक वृतमा चर्चा भइरहेको छ ।
प्रचण्ड सरकारमा नेकपा एसबाट दुई जना मन्त्री छन् भने सुदुरपश्चिम प्रदेशमा नेकपा एसकै नेतृत्व रहेको छ ।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो आफूहरुबीच कुरा भएको बताउँदै माधव नेपालको यताउती गर्ने बानी भए पनि अहिलेको समिकरणभन्दा बाहिर नजाने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चौधरीले पार्टी अध्यक्ष नेपालको दोहोरो चरित्र, यताउती गर्ने प्रवृति नभएको स्पष्ट पार्दै नेपाल इमानदारका साथ निर्णयहरु कार्यान्वयन गर्ने व्यक्ति भएको दाबी गर्नुभएको छ ।
यस्तै कांग्रेस सभापति देउवा अस्वस्थ भएको कारण मानविय संवेदनशीलतासँग जोडिएर देउवाको स्वास्थ्य अवस्था बुझ्न मात्रै अस्ति बुढानिलकण्ठमा भेटवार्ता जुरेको नेता चौधरीको भनाइ छ । उक्त भेटवार्तामा वर्तमान सत्ता गठबन्धन परिवर्तन गर्ने, नयाँ सरकार बनाउनेबारे कुनै पनि छलफल नभएको नेता चौधरीको प्रस्टोक्ती रहेको छ ।
देउवाको स्वास्थ्य अवस्था र सरकारले भर्खरै ल्याएको आर्थिक वर्षको बजेटकाबारे सामान्य छलफल भएको बताउँदै बाहिर विभिन्न अनावश्यक हल्लाहरु फैलाइएको उहाँले आरोप लगाउनुभयो ।