काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताउनुभएको छ ।
बुधबार चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवर्द्धन गर्नेगरी बजेट सार्वजनिक गरिएको बताउनुभयो ।
‘गणतन्त्र स्थापनापछि थुप्रै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायतका सार्वजनिक क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।’ उहाँले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्त्वका कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।
‘प्रदेश सरकारको नीति तथा कार्यक्रमले समेत यसलाई अघि सारेको छ, त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । उहाँले पछिल्ला दिनहरूमा अस्पतालको सेवा प्रवाहमा गुणात्मक परिवर्तन आएको बताउनुभयो ।
देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो ।
विसं २०७२ सालको महाभूकम्पले धराशायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्नुभयो।