काठमाडौं । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी भट्टराईले सहकारीको विषयलाई सत्ताको दृष्टिबाट भन्दा पनि जनताको दृष्टीबाट हेरिनु पर्ने धारणा राख्नु भएको छ ।
यो विषयलाई जस्ले उठाएको भएपनि जनताको पक्षमा रहेको तर्क गर्दै उहाँले जनताको विषयलाई सबैले उठाउनु पर्ने र सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेतृ भट्टराईले भन्नुभयो, “सहकारीको विषय सत्तासँगको विषय हैन, लाखौँ नागरिकसँग जोडिएको विषय हो, त्यसलाई राजनीतिकरण गर्नुहुदैन, यसलाई जनताको विषयसँग हेरिनु पर्छ ।”
उहाँले गृह मन्त्री रवि लामिछानेले आफूलाई निर्दोष सावित गराउन तिर भन्दा पनि प्रतिशोध गर्न साँध्न तिर लागेर गल्ती गरेको टिप्पणी गर्नुभयो ।
“उहाँले आफू निदोष हो भने आफूलाई छानविन गर्न स्वागत गरेर निर्दोष प्रमाणित गर्नु पर्नेमा आफ्नो बारेमा प्रश्न उठाउनेहरुका विरुद्ध राज्य शक्तिको दुरुपयोग गर्नुभयो, यो उहाँको गलत कदम हो,” नेतृ भट्टराईले भन्नुभयो ।
मिडिया र राजनीतिको विचमा द्धन्द्ध निम्त्याउनु राम्रो नभएको उहाँको भनाई छ ।