काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको गिरफ्तारी गृहमन्त्री रवि लामिछानेको व्यक्तिगत रिसीइबी बढि देखिएको बताउनुभएको छ ।
यो कुरा लोकतान्त्रिक राज्यमा उपयुक्त नहुने बताउँदै समाचार लेखेकै आधारमा वा समाचारका विषयबस्तुमा नभएर नागरिकतासँग सम्बन्धित रहेर अदालतको पक्राउ पुर्जी ल्याएर पक्राउ गरिएको भने नेता रिजालले स्पष्ट पार्नुभयो ।
यस्तै सिरोहियामाथिको गिरफ्तारी गलत भएकोसमेत नेता रिजालको तर्क छ ।
गृहमन्त्री लामिछानेले सञ्चारमाध्यमलाई लाञ्छीत गर्ने र सञ्चारमाध्यमसँग नराम्रो सम्बन्ध राख्ने गरिरहेको बताउँदै नेता रिजालले यो सबैको परिणाम आउने र देखिने गरि प्रतिशोधात्मक कारबाहि लिएको भान हुने गरि देखिएको स्पष्ट पार्नुभयो । तर विषय उठिसकेपछि अब यसलाई न्यायिक निरुपणबाट किनारा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले यो प्रकरण अब अदालती प्रक्रियाबाट छिटो न्यायिक निरुपण हुनेमा विश्वास व्यक्त गर्नुभएको छ ।
सिरोहियालाई अस्ति मंगलबार दिउँसो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीमा रहेको कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको हो ।
हिजो नै धनुषा पु¥याइएका सिरोहियालाई जिल्ला अदालत धनुषाले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सिरोहियालाई जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले पक्राउ परेको मितिदेखि तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
प्रहरीले अदालतमा पेश परेको विवरणमा सिरोहियाकै नाममा रहेको नागरिकता अर्का व्यक्तिको नाममा समेत पाइएको उल्लेख छ । प्रहरीले सिरोहियाको नागरिकताको प्रतिलिपिमा जन्ममिति किर्ते गरेर पछि थप गरेको आशङ्का गरेको छ ।
साथै सिरोहियाले नागरिकता लिँदा पेश गर्नुपर्ने कागजपत्रको अभिलेख फेला नपरेको प्रहरीको जिकिर छ ।
सिरोहियाले भने आफूले वंशज नागरिकता लिएको तर त्यसबारे देखिएका कमजोरी प्रशासनको त्रुटिका कारण भएको हुन सक्ने भन्दै त्यसमा आफ्नो दोष नरहेको दाबी गर्दै आएका छन् ।