काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारीका ठगहरुलाई बोकेर हिडेको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले जनताको स–सानो लगानीबाट जम्मा गरेको रकम ठगी गर्नेकै बचाउमा लागेको र पोस्ने काम गरिरहेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेक्रममा हिजो कांग्रेसले अवरोध गरेको थियो ।
यसअगाडि नै आफूहरुले अवरोध गर्ने जानकारी गराउँदै आएको र समय पनि बाँकी नै रहेकाले प्रधानमन्त्रीले आफूहरुको मागलाई व्यवस्ता गरेर विश्वासको मत लिन पुगेपछि अवरोध गरेको नेता रिजालको प्रस्टोक्ती रहेको छ ।
पहिला सहकारी ठगी प्रकरण समस्याको समाधान गरौं र त्यसपछि विश्वासको मत लिने प्रक्रिया गरौं भन्ने आफूहरुको माग प्रधानमन्त्रीले नमानेको पनि नेता रिजालको आरोप रहेको छ ।
कांग्रेसको अवरोधका बीच प्रधानमन्त्रीले चौथोपटक संसदमा विश्वासको मत लिनुभएको छ । यस्तै संसदमा सम्बोधनका क्रममा कांग्रेसमाथि प्रधानमन्त्रीले आक्रोशसमेत पोख्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले आफूले कांग्रेसललाई पटक–पटक सहयोग गरे पनि अहिलेको गतिविधिले दुःखी बनाएको बताउनु भएको थियो । प्रधानमन्त्रीले कांग्रेसको निकै गलत व्यवहारबाट आफू दुखि भएको बताउनुभएको थियो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका रिजालले सहकारी ठगी प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेकै संलग्नता रहेको प्रमाणहरु आफूहरुसँग प्रसस्त रहेको बताउनुभएको छ ।
यस्तै, संसदीय छानबिन समिति गठन भएपछि सहकारीको ठगी हो को? नाइके को हो? सबै कुरा प्रस्टै हुने नेता रिजालको दाबी रहेको छ । समिति नबनेसम्म आफूहरुको अवरोध जारी नै रहने पनि उहाँको अडान रहेको छ ।