काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले नेपाली कांग्रेसले अझैं पनि संसदमा अवरोध गर्नु उस्कै लागि राम्रो नहुने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ । तर अस्ति बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच समिति बनाउने सहमति भएको छ । हिजोको बैठकमा गृहमन्त्री लामिछाने बोल्नुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बर्तौलाले समिति गठनका लागि कार्यदल बनेर सहकारी पीडितको न्यायका लागि र ठगीलाई कारबाहीको दायरामा ल्याउने लगायतका कुरामा सहमति भइसकेपछि पनि संसद अवरोध गर्न के का लागि खोजिदैँ छ र किन कांग्रेस संसदलाई अगाडि बढाउन चाहदैँन भन्ने गम्भिर प्रश्नको बीचमा यतिबेला रहेको स्पष्ट पार्नुभयो ।
यस्तै उहाँले प्रायोजित, सुनियोजित षडयन्त्रका साथ संसदलाई लामो समय गतिरोध कायम राखिरहन भइरहेको प्रयत्न देश र जनताका लागि निकै दुखदायी रहेकाले यस्तो गर्न कांग्रेसलाई छुट नभएको तर्क गर्नुभयो ।
संसद बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठक पनि कांग्रेसले अवरोध गर्नेमा आशंका कायमै रहेको छ ।