काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले नेपाली कांग्रेसले संसदमा ताण्डप मच्चाएको आरोप लगाउनुभएको छ ।
सहकारीको बचत अपचलनमा मुछिएका गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेमाथि संसदीय छानबिनको मागमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच बढेको असमझदारी प्रतिनिधिसभा मुठभेडमै परिणत भएको छ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले वेल घेरेर नाराबाजी गरिरहेका बेला हिजोको संसद बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेलाई बोल्न रोस्ट्रममा बोलाएपछि सांसदहरूबीच धकेलाधकेल भएको थियो ।
यस्तै नेता गैरेले कांग्रेसका सांसदले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अभद्र व्यवहार गरेको आरोपसमेत लगाउनुभएको छ । संसदमा हिजो जे भयो त्यो सबै कांग्रेसको कारणले भएको नेता गैरेको तर्क रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद गैरेले कांग्रेसको व्यवहार अराजनीतिक, अलोकतान्त्रिक र अनुशासनहित देखिएको बताउँदै यस्तो व्यवहार सुधार गर्नुपर्ने टिप्पणी गर्नुभयो ।
गृहमन्त्री लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा कांग्रेसले संसदीय छानबिन समिति गठनको मागमा अडान कायमै राखिरहेको छ । संसद लगातार अवरुद्ध भइरहेको छ । यता रास्वापाले भने कांग्रेसकै मागका आधारमा समिति नबन्ने घोषणा गरेको छ ।