काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफूहरुले नभई प्रधानमन्त्री र सभामुखले संसद चल्न नदिएको बताउनुभएको छ । संसदीय छानबिन समिति गठन गरौं र संसद चलाऔं भन्ने आफूहरुको मागलाई ब्यवस्ता गरेर सरकारले नै संसद अवरुद्ध पारिरहेको पूर्वमन्त्रीसमेत रहनुभएका यादवले आरोप लगाउनुभयो ।
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै कांग्रेसले समिति गठनको माग गरिरहेको छ भने सरकारले गृहमन्त्रीको संलग्नता नरहेकाले समिति गठनको आवश्यक नै नभएको भन्दै पन्छिरहेको छ ।
सत्तापक्ष र प्रतिपक्षको टकरावका कारण संसद लगातार अवरुद्ध भइरहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले विगतमा पनि यदि सरकारका प्रधानमन्त्री या मन्त्रीमाथि जनताले औला उठायो र दोषी ठह¥यायो भने संसदीय समिति बनाएर निष्कर्षमा पु¥याएर दोषी छ या छैन भन्ने कुरा सावित भइरहेकाले अब यो सहकारी प्रकरणमा किन समिति बनाउन सरकार तयार भएन भन्दै प्रश्न गर्नुभएको छ । यस्तै उहाँले जवसम्म छानबिन समिति बन्दैन तबसम्म आफूहरुको अडान कायमै रहने पनि स्पष्ट पार्नुभएको छ ।
गृहजस्तो पदका व्यक्ति नै यति ठुलो ठगी प्रकरणमा मुछिदासम्म पनि सरकारले बचाइरहेको भन्दै उहाँले आपत्तीसमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितले छानबिन समिति बनाउन नमान्नु नै दोषी ठहरिएका व्यक्तिकै संलग्नता रहेको प्रष्ट हुने पनि नेता यादवको दाबी रहेको छ ।