काठमाडौं । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका पत्रकार विष्णु चौलागाइको निधन भएको छ । काभ्रेबाट प्रकाशित हुदै आएको काभ्रेपोष्टका संस्थापक तथा प्रधान सम्पादक चौलागाइको गएराती निधन भएको हो ।
काठमाडौस्थीत ओम अस्पतालमा उपचार गराइरहनु भएका चौलागाइलाई कोरोना उपचारपछि नेगेटिभ देखिइसकेको भएपनि निधन भएको हो ।
निमोनियाका विरामी समेत रहेका चौलागाइको कलेजो र फोक्सोमा समस्या भएपछि निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
उहाँको अहिले केहीबेरमा काठमाडौ पशुपति आर्यघाटमै अन्त्यष्टि गर्ने तयारी भइरहेको परिवारजनले जनाएका छन् ।
उहाँका श्रीमती, एक छोरा र एक छोरी थिए । झण्डै तीन दशक देखि पत्रकारितामा क्रियाशिल चौलागाइले दुई दशकभन्दा बढी समयदेखि निरन्तर काभ्रेपोष्ट प्रकाशन गर्दै आउनु भएको थियो ।
नेपाल प्रेस युनियन काभ्रेका पूर्व अध्यक्ष समेत भइसक्नु भएका चौलागाई अहिले पत्रकार महासंघको जिल्ला कार्यमितिको सदस्य हुनुहुन्थ्यो ।
उहाँको निधनप्रति सर्वत्र दुःख व्यक्त भइरहेको छ ।
काभ्रे क्षेत्रका धेरै पत्रकारहरुको पाठशाला समेत बनेको काभ्रेपोष्टले त्यस क्षेत्रको विकास र जागरमा समेत ठूलो योगदान गरेको धेरैले बताएका छन ।
उहाँसँगै लामो समय काम गर्नुभएका नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष भिम गौतमले उहाँको निधन प्रति दुःख व्यक्त गर्दै चौलागाइको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षती पुगेको उल्लेख गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “चाहे दरबारमा राजा भेट्न पुग्दा होस्, चाहे राष्ट्रपति, प्रधानमन्त्री गएको कुनै कार्यक्रम होस् वा कुनै मन्त्री गएको कार्यक्रम होस्, आफै काभ्रेपोष्ट लगेर बाड्ने, कुनै लाज नमान्ने, जसले जे भनिरहनु, निरन्तर लागिरहने । उहाँको मेहनत साच्चीकै लोभलाग्दो थियो । समाचार लेख्नेदेखि वितरण गर्नेसम्म अनि गाउँका हरेक विषयवस्तुलाई समाचार बनाईदिने उहाँको खुबी थियो ।
उहाँले काभ्रेपोष्टलाई यसरी ब्राण्डिङ गर्नुभयोकि काभ्रेपोष्ट पत्रिकाबारे थाहा नहुने कमै छन् । विष्णुदाईसँग एउटा झोला सधै हुन्थ्यो अनि झोलाभरि काभ्रेपोष्ट । चिनेको वा भर्खर भेटेको जसलाई पनि भेट्ने वित्तिक्कै सञ्चो विसञ्चो सोध्न नपाउँदा काभ्रेपोष्ट दिईहाल्ने ।
विष्णुदाईको त्यो काभ्रेपोष्ट बोक्ने पत्रकारिताको झोला विष्णु दाई यो संसारमा नरहने पनि सधै सम्झनामा रहिरहनेछ । विष्णु दाईको काभ्रेपोष्टको झोलाले काभ्रेको पत्रकारितालाई मात्र सम्झाउँदैन, उहाँसँगका धेरै सम्झनाहरुलाई पनि झकझकाईरहनेछ । हार्दिक श्रद्धाञ्जली विष्णु दाई ।”