काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्युु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुुभएको छ ।
यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाले हिजो साँझ नै मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीमा कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो । उता झापाको मेचीनगर नगरपालिका ६, काँकडभिट्टाकी ७९ वर्षीया महिलाको आज कोभिड १९ को सङ्क्रमणबाट मृत्यु भएको छ । बिर्तामोडस्थित बीएन्डसी हस्पिटलमा उपचारकै क्रममा आज बिहान ९ बजे उनको मृत्यु भएको थियो ।
यस्तै रुपन्देही र पाल्पाका थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ की ७१ वर्षीया महिलाको आज बिहान बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा साढे ११ बजे र पाल्पाको तानसेन नगरपालिका–२ का ६० वर्षीय पुरुषको गएराति लुम्बिनी प्रादेशिक अस्पतालमा १० बजे मृत्यु भएको हो ।