Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तत्काल पार्टी परित्यागको सोचमा छैन, गर्ने नै भए व्यवस्थितरुपमा तर्कसहित घोषणा गर्छु: डा. भीम रावल

तत्काल पार्टी परित्यागको सोचमा छैन, गर्ने नै भए व्यवस्थितरुपमा तर्कसहित घोषणा गर्छु: डा. भीम रावल

  • शुक्रवार, बैशाख १४ २०८१

  • 709
    SHARES

  • तत्काल पार्टी परित्यागको सोचमा छैन, गर्ने नै भए व्यवस्थितरुपमा तर्कसहित घोषणा गर्छु: डा. भीम रावल

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले अहिलेनै पार्टी परित्याग गर्ने सोचमा नरहेको बताउनुभएको छ ।

    पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका रावलले पार्टी परित्याग गर्ने मनस्थिति बनाएको भन्ने समाचारहरु सार्वजनिक भइरहेको बेला यी खबरहरु सबै गलत खबर भएको स्पष्ट पार्दै अहिलेसम्म एमाले कै सदस्य रहेको र अहिले पार्टी छाड्ने घोषणा नगरेको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यदि पार्टी परित्याग गर्ने नै भए व्यवस्थितरुपमा तर्कसहित उपस्थित हुने स्पष्ट पार्नुभयो । एमालेको दशौं महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्नुभएका रावल त्यसपछि पार्टीसंग असन्तुष्ट र अलग देखिनुभएको छ ।

    एमालेको भर्खरैमात्रै गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिध परिषद्को बैठकमा पनि रावललाई सहभागी हुन दिइएको थिएन ।
    आफूलाई गोदावरीमा गरिएको व्यवहार र पार्टीमा भएका अन्य निर्णयहरुमा धकेलेर एक घुम्तीमा पु¥याइएको बताउँदै उहाँले आगामी दिनमा यो घुम्तीबाट निर्णायक बिन्दुमा छु भन्ने कुरा बुझेको तर्क गर्नुभयो ।

    पार्टी जोगाउन, मिलाउन आफूले धेरै काम र कोशी गरेको दाबी गर्दै नेता रावलले अबका दिनमा कसरी अगाडी बढ्नेभन्नेबारे कार्यकर्ता, शुभचिन्तकहरुसँग छलफल र परामर्श गर्ने अनि आगामी दिशा टुंगो लगाउने बताउनुभयो ।

    यस्तै अर्को प्रसंगमा नेता रावलले सहकारी ठगी प्रकरणमा नेतृत्व तहमा व्यक्तिहरु टसमस नभइकन चुप लागेर बसिरहेको आरोप लगाउनुभयो । गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको यो प्रकरणमा एमालेले पनि बचाइरहेको र दोषी भनेकै व्यक्तिको पक्षमा बोलेको आपत्ती जनाउनुभयो ।

    एमालेको नितिमा यति ठुलो भ्रष्टाचारीलाई बोकेर प्रसंशा गरेर यो निर्दोष हो भनेर घोषणा गर्नुपर्ने हुँदै नभएकाले यसमा एमाले चुकेको आरोप लगाउनुभयो ।

    अहिलेको सरकारले निर्वाचनका बेला बोलेका र सुशासनका कुराहरु बिर्सिए पनि नेता रावलको आरोप रहेको छ ।


    शुक्रवार, बैशाख १४ २०८१०८:४४:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij