काठमाडौँ – भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग मध्यरातमा गरेको तीन घण्टा लामो वार्ता केपी शर्मा ओली नेतृत्वको वर्तमान सत्ताका लागि गलपासो बनेको छ।
पार्टीभित्र र बाहिरबाट चर्काे आलोचना भएपछि गोयलसँगको गोप्य भेट प्रधानमन्त्री केपी ओलीका लागि गलपासो बनेको हो । गोयलसँगको गोप्य भेटले राष्ट्रवादको धोती फुस्केको भन्दै प्रधानमन्त्री ओलीको चर्काे आलोचना भइरहेको छ । व्यापक रुपमा भएको आलोचनाको सामनाका लागि बालुवाटारले शक्ति प्रदर्शन सुरु गरेको छ ।
प्रधानमन्त्री ओलीले आफू र रअका प्रमुख गोयलबीच भएको भेटपछिको क्षति न्युनिकरणका लागि आफ्ना विश्वासपात्रहरुलाई परिचालन गर्नुभएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलदेखि परराष्ट्रमन्त्री प्रदीव ज्ञवाली तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल रअका प्रमुख र प्रधानमन्त्रीबीच भएको भेटको बचाउमा उत्रेका छन् ।
उनीहरुले गोयलले रअका प्रमुखका रुपमा नभई भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा नेपाल आई प्रधानमन्त्रीसँग भेट गरेको दाबी गरेका छन् । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा पोखरेलद्वय र ज्ञवालीसहित अन्य ओलीका विश्वासपात्रहरुले मोदीको विशेष दूतका रुपमा गोयल नेपाल आएको दाबी गरिरहेका छन् ।
सुरुमा यो भेटबारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नै नरहेको विषय सार्वजनिक भएको थियो । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मोदीको विशेष दूतका रुपमा गोयलले प्रधानमन्त्रीसँग भेट गरेको दाबी गर्नुभयो ।
तर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने मोदीको विशेष दूतका रुपमा गोयलले प्रधानमन्त्री ओलीलाई भेट गरेको भुटा दाबी रहेको बताउनुभयो । उहाँले यदि त्यसो हुन्थ्यो भने प्रेस वक्तव्यमा उक्त कुरा किन उल्लेख गरिएन भन्दै प्रतिप्रश्न गर्नुभयो ।
उहाँले पूर्वसूचना दिएर मात्रै विशेष दूतका रुपमा आउने प्रणाली रहेको बताउँदै अहिलेको भेटलाई एकदमै गोप्य राख्न खोजिनुले पनि त्यो विषयसँग तालमेल नमिल्ने बताउनुभयो । उहाँले रअका प्रमुख र प्रधानमन्त्री ओलीबीचको भेटलाई नेपालको राजनीतिमा भारतले फेरि पनि सुक्ष्म व्यवस्थापन गर्न थालेको रुपमा सन्देश बाहिर गएको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँगको भेटका क्रममा भएको छलफलका सबै विषयबस्तु सार्वजनिक गर्नुपर्ने माग उठेको छ । भारतका लागि पूर्व राजदूत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रधानमन्त्रीले उहाँलाई भेटुन पर्ने कारण र भेटघाटका क्रममा भएको छलफलका बारे जानकारी गराउनु पर्ने बताउनुभयो ।
रातको समयमा प्रधामन्त्रीले अर्को देशको गुप्तचर प्रमुखसँग एक्लै भेट्ने कुरा सामान्य विषय नरहेकोले त्यस बेला के के छलफल भयो, त्यो सबै सार्वजनिक हुनुपर्ने माग गर्नुभयो ।
बाहिर राष्ट्रवादको नाममा चट्टानी अडानको भाषण दिने तर भित्रभित्र राती रातीमा गुप्तचरहरुसँग भेटेर लम्पसार पर्ने प्रधानमन्त्री ओलीको चरित्र थप उदाङ्गएको रुपमा पनि टिप्पणीहरु भइरहेका छन् ।