काठमाडौं । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले अहिलेको गठबन्धन जवरजस्ती बनाइएको कृतिम गठबन्धन भएको बताउनुभएको छ । यस्तै उहाँले अहिलेको गठबन्धनको आयू एकदमै छोटो भएकाले यो आफैं भत्किने निश्चित रहेकोसमेत दाबी गर्नुभयो ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट बोकेर एमाले र कांग्रेसबीच भएको प्रतिष्पर्धासँग खेलेर रमाइरहेको आरोप पनि नेता खड्काल् लगाउनुभयो । यो क्रियाकलापले व्यक्तिगत रुपमा प्रचण्डलाई खुशी, शान्ती मिले पनि जनतामा निराशा र असन्तुष्ट व्याप्त रहेको उहाँको जिकीर छ । अहिलेको राजनीतिक अस्थीरताले देश र जनतामा थप समस्या उत्पन्न बनाएको पनि नेता खड्काको तर्क रहेको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका खड्काले माओवादी एमालेसहितको गठबन्धनलाई भत्काउन कसैले पनि खेल्न आवश्यक नरहेकाले यो आफै भत्किने निश्चत रहेको दाबी गर्नुभयो ।
यस्तै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अरु दल र विदेशी शक्तीमाथि दोष थुपारेर राजतीनि गरिरहेकोसमेत नेता खड्काको आरोप रहेको छ । पद, शक्ती र सत्ताकै पछि लागेको सरकारबाट जनताले आस गर्ने अहिलकति पनि ठाउँ नरहेकाले ठुलाठुला कुरा गरेर भ्रम फैलाउनुबाहेक केहि नहुने बताउनुभयो ।
यस्तै, सहकारी प्रकरणमा नेता खड्काले गृहमन्त्री रवि लामिछाने मुछिएको प्रमाणसहित पुष्टि हुँदा पनि उन्मुक्ति दिइरहेको बताउँदै भ्रष्टाचार र भ्रष्टाचारीलाई पोस्नमै सरकार लिप्त बनेको आरोप लगाउनुभयो ।
गृहमन्त्री लामिछाने स्वयम्ले यस प्रकरणमा होइन र नाइ भन्नु लज्जास्पद अभिव्यक्ति भएको पनि नेता खड्काको भनाइ रहेको छ । गृहमन्त्री वास्तवमै निदोष भए अनुसन्धानको लागि मार्ग प्रसस्त गरिदिनुपर्नेमा जोड दिँदै नेता खड्काले संसदीय छानविन समिती बनाउन नमान्नु नै दोषी भएको ठुलो प्रमाण भएको स्पष्ट पार्नुभयो ।