काठमाडौँ – दसैँ मान्नेहरु कम्युनिष्ट हुन नसक्ने नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलको अभिव्यक्तिप्रति धर्मशास्त्रीहरुले कडा आपत्ति प्रकट गरेका छन्।
उनीहरुले धार्मिक भावनामाथि खेलवाड कसैले पनि गर्न नहुने बताएका छन्।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेकपाका नेता हरिबोल गजुरेलले दसैँ मनाउनेहरुलाई अन्ध विश्वासीको संज्ञा दिनुभएको थियो।
धर्म मान्ने व्यक्ति कम्युनिष्ट हुन नसक्ने भएकाले आफूले जनयुद्धमा लागेदेखि नै दसैँको टिका जमरा लगाउन छाडेको नेता गजुरेलले बताउनुभयो।
कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापहरुमा विश्वास नगर्ने उहाँको भनाइ थियो।
नेता गजुरेलले आफू कहिल्यै मन्दिरमा नगएको र आगामी दिनमा पनि नजाने अठोट व्यक्त गर्नुभयो।
आफूहरु धर्मको विपक्षमा रहेको आशय व्यक्त गर्दै उहाँले जनताले धर्म मानेकोप्रति भने कुनै आपत्ति नरहेको स्पष्ट पार्नुभयो।
नेपालमा कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उहाँको टिप्पणी छ।
आफ्ना अधिकांश कार्यकर्ता र समर्थकहरुलाई उहाँले घुमाउरो तरिकाले सच्चा कम्युनिष्ट हुन नसकेको टिप्पणी गर्नुभयो।
नेकपाका अधिकांश कार्यकर्ता तथा समर्थहरुले दशैँ मनाएपनि उनीहरुकै धेरै नेताहरुले भने उनीहरुको भावना विपरीत दसैँ बहिस्कार गर्ने गरेका छन्।
धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट पार्टीका नेताहरुले दसैँ मनाउने कोही पनि कम्युनिष्ट हुनै नसक्ने दाबी गरेपछि त्यसको आलोचना भइरहेको छ।
धर्मशास्त्री बाशुदेव शास्त्रीले धानको भात खाने हरेक व्यक्तिले टिका जमरा पनि ग्रहण गर्ने बताउनुभयो।
उहाँले दसैँ मान्ने कि नमान्ने बहस गर्नुभन्दा पनि कृषि र कृषकको सम्मान गर्ने पर्वका रुपमा पनि दसैँलाई लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भवानीको प्रसादका रुपमा लगाइने टिका जमराको अबमुल्यन कसैले गर्न नहुने बताउनुभयो।
असत्यमाथि सत्यको जितका रुपमा मनाइँने दसैँ पर्व बहिस्कार गर्छु भन्नुको कुनै तुक नरहने उहाँको आशय छ।
नेपालमा जनताको भावना विपरीत विदेशीको इशारामा धर्म निरपेक्षता लादिएको विषय जगजाहेर छ।
तर हिन्दुहरुले मनाउने दसैँ पर्वलाई हालसम्म पनि नेपाल र नेपालीहरुको महान पर्वका रुपमा लिइन्छ।
हिजो जनयुद्धका बेला धर्म नमान्ने भन्दै मठ मन्दिर भत्काउनेहरु अहिले निजी निवास निर्माणका क्रममा पनि धुमधामका साथ पूजापाठ गरेर मात्रै शिलान्यास गर्ने गरेको पनि पाइन्छ।