Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

  • बिहिवार, चैत्र २९ २०८०

  • 634
    SHARES

  • नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण
    काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले आर्थिक वर्ष २०८०–८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो । 
     
    बैंकले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृश्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९–८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ । 
     
    नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ ।
     
    बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्त्वपूर्ण जलविद्युत् परियोजनाको उत्पादन सुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ ।  
     
    कार्यक्रममा एडिबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले विश्व अर्थतन्त्रमा देखिएको शिथिलताका कारण नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहेको पर्यटन तथा विप्रेषण क्षेत्र प्रभावित हुनसक्ने जोखिम रहेको चर्चा गर्दै गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवं समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
     
    एडिबी नेपालका वरिष्ठ अर्थशास्त्री मानवर खड्काले पछिल्लो समय दक्षिण एसियाली मुलुकअन्तर्गत भारत र बङ्गलादेश उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको जानकारी दिँदै बाँकी अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र सन्तोषजनक रहेको बताउनुभयो । 
     
    एडिबीका वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले बाह्य लगानीमा भर नपरी विकास निर्माणसहित पुँजीगत खर्चको व्यवस्था देश स्वयंले गर्नुपर्ने धारणा व्यक्त गर्दै नतिजामुखी नीतिनियमसहित संरचनागत रूपान्तरणतर्फ नेपालको ध्यान जानुपर्ने सुझाव दिनुभयो।  
     
    बैंकले पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतको मुद्रास्फीति न्यूनीकरणसँगै नेपालको औसत मुद्रास्फीति गत आर्थिक वर्षको ७ दशमलव ७ को तुलनामा चालु आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ ।
     
    यसैगरी चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०८१ मा चालु खाता घाटा कूल ग्राहस्थ उत्पादनको शून्य दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । 
     
    सन् १९६६ मा स्थापित एडिबीमा एसिया-प्रशान्त क्षेत्रका ४९ सहित ६९ सदस्यहरूको स्वामित्व रहेको छ । 


    बिहिवार, चैत्र २९ २०८००२:३७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij