काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
हिजो मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा आजका लागि सारिएको हो।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने पनि सम्भावित कार्यसूची रहेको छ ।
यसैबीच अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलकोलागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।