काठमाडौँ – विजयादशमीको टिका जमरा ग्रहण गर्दा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न जनस्वास्थ्यविदहरुले आग्रह गरेका छन्।
कोरोना महामारीको संक्रमणका बीच मनाउन थालिएको विजयादशमी अन्तर्गत टिका जमरा ग्रहण गर्दा दूरी कायम गर्ने, मास्क लगाउने तथा सेनिटाइजरको प्रयोगमा विशेष जोड दिन उनीहरुको आग्रह छ।
जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेले सकेसम्म घरभित्रै रहेका परिवारका सदस्यहरुबीच मात्रै टिका जमरा लगाउने कार्य गर्न आग्रह गर्नुभयो । उहाँले जमरा लगाउँदा पनि दूरी कामय गर्ने कुरा नबिर्सेर पालना गर्न र मास्कको प्रयोग अनिवार्य गर्न आग्रह गर्नुभयो।
यस्तै नेपालका ज्योतिष तथा पण्डितहरुले पनि शरीर स्वस्थ रहेमा मात्रै धर्म कर्म गर्न सकिने भएकोले महामारीका बेला जनस्वास्थ्य मापदण्डको स्पष्ट पालना गर्न आग्रह गरेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले सरकारले भने बमोजिम स्वासथ्य सावधानी अपनाएर मात्रै टिका जमरा ग्रहण गर्न आग्रह गर्नुभयो।
धर्मशास्त्रले पनि पहिले शरीरको स्वस्थतालाई ध्यान दिन आग्रह गरेको बताउँदै उहाँले संक्रमित व्यक्ति अथवा कोरोनाको जस्तै लक्षण देखिएका व्यक्ति घरमा छन् भने उनीहरुलाई छुट्टै राखेर टिका जमरा दिने व्यवस्था गर्न आग्रह गर्नुभयो।
दसैँमा सामूहिक रुपमा भेला भएर खानपानको कार्यक्रम नराख्न पनि चिकित्सकहरुले सुझाव दिएका छन्। खाना खानु पर्दा मास्क खोल्नै पर्ने भएकोले सकेसम्म धेरै मानिस भेला भएर खानपानको कार्यक्रम नराख्न डा. पाण्डेले सुझाव दिनुभयो।
उहाँले रुपैयाँबाट पनि कोरोना भाइरस सर्न सक्ने सम्भावना हुने भएकोले दक्षिणा आदान प्रदान गर्दा पनि विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो।
यस वर्ष विजया दशमीको टिकाका लागि उत्तम शुभसाइत भोलि बिहान १० बजेर १९ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
तर दसैँको दिन आफैमा शुभ रहने भएकोले टिका जमरा ग्रहणका लागि साइत खोज्न नपर्ने प्राध्यापक डा. गौतमको भनाई छ।