काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नाउपाका नेता लक्ष्मण चौधरीले केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई गरेको समर्थन यथावथ राख्ने बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चौधरीले तत्काल सबै प्रदेशका सांसदसँगको सल्लाहबिना बाहिरिने अवस्था नरहेकाले प्रदेशमा सत्ता भत्काउने अबजस आफूहरुले लिन नचाहेको बताउनुभयो ।
तर पार्टीको हिजो बसेको बैठकले भने सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
त्यसको भोलिपल्ट अर्थात आज नेता चौधरीले सुदुरपश्चिमका सांसद र सरकारमा सहभागी जति पनि मन्त्रीहरु छन् उनीहरुको पूर्ण उपस्थिती र राय, सल्लाहबिना एकोहोरो निर्णय गरिन नहुने बताउँदै प्रदेशको समर्थन कायमै राख्ने स्पष्ट पार्नुभएको छ ।
पार्टी अध्यक्षले गरेका अमान्य र प्रदेशको जनताहरुको इच्छा र अवस्थालाई लत्याउने गरी आएको निर्णयलाई कुनै पनि हालतमा आफूहरु मान्न तयार नभएको नेता चौधरीको भनाइ रहेको छ ।
चुनावका बेला गरेका प्रतिवद्धताहरुलाई पूरा गर्न भौतिक चाहे विकासका पक्षमा अहिले लडिरहेका बेला पार्टीले यसरी पेलेर लान खोज्दा गलत भएको तर्क गर्दै पूर्ण रुपमा सबैको चित्त बुझाएर गरेको निर्णयबाहेक अरुमा सहमति नहुने नेता चौधरीको अडान रहेको छ ।
फागुन २१ गतेको नयाँ सत्ता गठबन्धन बनेलगत्तै निर्वाचन आयोगले अध्यक्षमा रेशम चौधरीलाई अयोग्य ठहर गरेर रञ्जितालाई अध्यक्षमा पुनःस्थापित गरेपछि नाउपाभित्र तीव्र मतभेद देखिएको छ ।