Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२४ हुने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२४ हुने, प्रधानमन्त्रीले उद्घाटन गर्ने

  • शनिवार, चैत्र १० २०८०

  • 603
    SHARES

  • अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२४ हुने,  प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौं । ७ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० आयोजना गरिने भएको छ । महिला उद्यमी महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त व्यापार मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो ।

    महासंघकी अध्यक्ष शोभा ज्ञवालीका अनुसार यही चैत्र १६ गतेदेखि २० गतेसम्म हेरिटेज गार्डेन सानेपामा मेला हुने भएको हो । उक्त मेलामा ५० हजार अवलोनकर्ताहरु आउने र पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ ।

    मेलामा विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य यस मेलाको रहेको आयोजकले जनाएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम तय भएको छ ।

    अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेलाले उद्यमी महिलाहरूको सिपलाई अगाडी ल्याएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचान बनाउन सघाउ पुर्‍याउने अध्यक्ष ज्ञवालीले बताइन् ।

    उहाँले भन्नुभयो, ‘स्थानीय तहदेखिका केन्द्रसम्मका महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धन गर्नका लागि यो मेला आयोजना गरिएको हो । यो मेलाले महिलाको आर्थिक सबलीकरणमा टेवा दिनेछ । नेपालभरका साना, ठुला सबै प्रकारका उद्यमीहरू मेलामा सहभागी हुनेछन् ।’

    महासंघकी प्रथम उपाध्यक्ष दर्शना श्रेष्ठका अनुसार मेलामा जम्मा ११२ वटा स्टलहरू रहनेछन् । मेलामा स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बङ्गलादेश लगायतको मुलुकका महिला उद्यमीहरूका उत्कृष्ट उत्पादनहरू पनि किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुनेछ । यस अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालभरका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला अन्तर्राष्ट्रिय मुलुकका महिला उद्यमीहरूको सहभागिता रहनेछ ।

    मेलामा महिला उद्यमीहरूले उत्पादन गरेका पहिरनका साथ र्‍याम्प वाक पनि गरिनेछ । हस्तकलाको महत्त्व दर्शाउन सम्पूर्ण अवलोकनकर्ताहरुलाई हस्तकलाका उत्पादनको प्रत्यक्ष अवलोकनको अवसर प्रदान गरिनेछ । यस व्यापार मेलामा नव महिला उद्यमी, अपाङ्गता भएका महिला उद्यमीहरूका लागि पनि स्टलको व्यवस्था गरिएको छ ।

    विभिन्न जिल्लाबाट सहभागी महिला उद्यमीहरूलाई प्रोत्साहन स्वरूप विभिन्न विद्यामा उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिनेछ । जसमा उत्पादित वस्तुहरूको प्रदर्शनी, स्टल सजावट प्याकेजिङ्ग तथा लेबलिङ्ग आदि आधारहरू रहनेछन् । उक्त मेला उद्घाटन समारोहमा महिला उद्यमीहरूको संघर्षका कथा समेटिएको पुस्तक समेत सार्वजनिक गरिने अध्यक्ष ज्ञवालीले जानकारी दिएकी छिन् ।


    शनिवार, चैत्र १० २०८००९:३७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij