काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रीपाठीले पछिल्लो केहि दिन सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदम प्रसंशनीय भएको बताउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका त्रीपाठीले भ्रष्टाचारविरोधी अभियान र भ्रष्टाचारीलाई कारवाहाी गर्नु जनतामा आसा जगाउनु भएकाले सरकारले अब यसतर्फ गम्भिर भएर लाग्नुपर्ने स्पष्ट पार्नुभएको छ ।
जनतामा निराशा छाउनुको मूख्य कारण नै देशमा भएको भ्रष्टाचार र बेथिती रहेकाले यसलाई न्युनिकरण गर्नु नै सरकारको मूख्य काम रहेको बताउनुभयो ।
बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले बयान लिएको छ भने पूर्वसभामुख कृष्ण महरासँग पनि बयान लिएको छ ।
उच्च तहका व्यक्तिहरुलाई लगतार कानुनी दायरामा ल्याइनुले पनि सरकारले भ्रष्टाचारविरुद्ध सशक्त बनेको भन्ने केहि आसा पलाएको नेता त्रीपाठीको भनाइ छ ।
यस्तै नेता त्रीपाठीले सहकारी पीडितहरुलाई न्याय र दोषीलाई कारवाही गर्न पनि माग गर्नुभएको छ । आन्दोलनरत सहकारी पीडित र सरकारबीच आठ बुँदे सहमति भने भइसकेको छ ।
सहमतिसँगै सहकारी बचतकर्ताको आन्दोलन स्थगित भएको छ । सहमतिमा भएका प्रतिवद्धताहरु सबै कार्यान्वयन हुनुपर्ने नेता त्रीपाठीको माग रहेको छ ।