काठमाडौं । सरकारको नयाँ व्यवस्था अनुसार सञ्चालन अनुमति प्राप्त गरेको ‘ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी’ले भोलिदेखि रुपन्देहीबाट सेवा प्रारम्भ गर्ने भएको छ।
बुटवलका उद्यमी जगत बहादुर पोखरेलको नेतृत्वमा ७१ जना व्यवसायीहरू मिलेर रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा दृष्ट माइक्रो इन्स्योरेन्स कम्पनी नामक बिमा कम्पनी स्थापना गरेका हुन्।
कूल ७५,००,००,००० (पचहत्तर करोड) चुक्ता पुँजी राखेर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त उक्त लघु निर्जीवन बीमा कम्पनीले तिलोत्तमामा मुख्य कार्यालय राखेपनि सेवा भने काठमाडौंसहित धेरै जिल्लाबाट प्रवाह गर्ने भएको छ ।
मध्यम वर्गका नागरिक, साना तथा मझौला व्यवसायीहरूलाई बीमाको मूल धारमा ल्याउने र उनीहरूको सम्पत्तिमा प्राकृतिक प्रकोप, आकस्मिक दुर्घटना लगायतबाट हुने हानी, नोक्सानी तथा जोखिमलाई न्यूनीकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्सुरेन्स कम्पनी सञ्चालन गर्न लागिएको अध्यक्ष जगत बहादुर पोखरेलले बताउनुभयो।
बुटवल तथा यस आसपासका क्षेत्रलाई मुख्य सुरुवाती थलो बनाएर धेरैजसो यही ठाउँका व्यापारी, उद्योगी, व्यवसायीक प्रतिष्ठानलगायतको लगानीमा स्थापना भएको यस दृष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले, निर्जीवन बीमा व्यवसाय अन्तर्गत लघु मोटर बीमा, लघु सम्पत्ति बीमा, लघु घर बीमा, लघु सामुद्रिक बीमा, लघु व्यक्तिगत दुर्घटना बीमा, लघु सामूहिक दुर्घटना बीमा, कृषि तथा पशुपंक्षी लघुबीमालगायतका बीमा व्यवसाय गरी सर्वसाधारणलाई भइपरी आउने दुर्घटनाजन्य तथा दैवीप्रकोपजन्य हुने हानीनोक्सानीमा राहत दिने पोखरेलले बताउनुभयो।
पोखरेलले नेपालीहरूलाई बीमाको मूलधारमा ल्याउन र उनीहरूको सम्पत्तिको सुरक्षणमा बीमाको पहुँच पुर्याउनका लागि र बीमासम्बन्धी सचेतना ल्याउने खालका कार्यक्रम ल्याउने बताउनुभयो।
सरकारले हरेक प्रदेशमा एउटाएउटा लघुबिना कम्पनीलाई लघुबिमा सेवा सञ्चालनका लागि अनुमति दिएकोमा लुम्बिनी प्रदेशमा यही ‘ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनी’लाई अनुमति दिएको हो।