काठमाडौँ – कोरोना कहरका बीच सुरु भएको दसैँका अवसरमा हुने खानपानमा यसपाली अरु वर्षहरुमा भन्दा अझ विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।
कोरोना संक्रमणको जोखिम अत्यधिक भएकोले शरीरलाई असर पर्ने खालका खानाको सेवन नगर्न पोषणविदहरुले सुझाव दिएका हुन्।
वरिष्ठ पोषणविद मनिषा ठकुराठीले कोरोना संक्रमित र लक्षण भएका हरु व्यक्तिले पनि मासुसहित चिल्लोजन्य पदार्थको सेवन कम गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले दसैँका बेला उसै पनि खानपानमा ख्याल गर्नुपर्ने बताउँदै यसपटक कोरोना कहर पनि भएकाले झनै सावधानी अपनाउनुपर्ने सुझाव दिनुभयो।
दसैँका बेला नेपाली परिवारको भान्सामा माछामासु लगायत चिल्लो र पिरो धेरै भएका परिकारहरु पाक्ने गर्छन । तर, खानपिनमा ध्यान नपु¥याए सामान्य लक्षण भएर घरमै बसेका संक्रमितमा पनि गम्भीर समस्या आउनसक्ने भएकोले खानपानमा विशेष ध्यान दिनुपर्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभयो ।
उहाँले कोरोना संक्रमित भएका र जोखिममा परेका व्यक्तिहरुले चिल्लो पिरो लगायत प्रोटिन धेरै भएको परिकार सकेसम्म खान नहुने बताउनुभयो । तर शरीरलाई आवश्यक पर्ने खाना भने मात्रा मिलाएर सेवन गर्नुपर्ने उहाँको राय छ ।
डा. पुनले दसैँका अवसरमा घरपरिवारका सदस्यहरुबीच खाने बेलामा पनि दूरी कायम गर्नुपर्ने बताउनुभयो । सबै सदस्यहरु एउटै कोठामा बसेर सामूहिक भोजन पनि गर्न नहुने उहाँले सुझाव दिनुभयो ।
दसैँमा खानाको तारतम्य मिलेन भने ग्यास्ट्रिकको समस्या बढ्ने, अपच हुने, बान्ता तथा पखाला हुने समस्या आउन सक्छन् ।
कोरोना संक्रमित व्यक्तिलाई यस्ता समस्या थपिए अवस्था झनै गम्भीर बन्न सक्ने भएकोले पच्नसक्ने गरी मात्रै खानेकुरा खान चिकित्सकहरुले सुझाव दिएका छन् ।
माछा मासु तथा चिल्लो पिरो खानेकुरालाई प्राथमिकता नदिएर सागसब्जी, गेडागुडी, दूध, दही तथा मौसमी फलफूल र सदालका रुपमा मुला तथा गाँजरको सेवन गर्नु उत्तम हुने पोषणविदहरुको भनाई छ ।