काठमाडौं । पूर्व मन्त्री महिन्द्र राय यादवले डा. बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको आरोप लगाउनुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै हिजो मात्रै विभाजित भएको नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्षसमेत रहनुभएका यादवले बाबुरामले नेसापको सर्वसम्मत निर्णय र जनतालाई धोका दिएको आरोप लगाउनुभएको हो ।
हिजो मात्रै डा. बाबुराम भट्टराईले गठन गरेको नेसपा फुटेको छ । यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर माओवादीसँग एकता गर्ने सहमति गरेको यादवको भनाइ छ ।
माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । एकता संयोजन समितिको बैठक पनि बाबुरामले नै बोलाएको तर बैठकमा सहभागि गराउन प्रधानमन्त्री स्वयम्ले फोन गर्दा पनि नउठाउने र अनेकौ प्रयास गर्दा पनि उहाँ नै उनुपस्थित भएकाले बाबुरामलाई बाहिर राखेर आफूहरु माओवादी केन्द्रसंग एकतामा सहमत भएको यादवले स्पष्ट पार्नुभयो ।
यस्तै आफूहरुले बाबुरामलाई धोका नदिएको पनि नेता यादवको भनाइ छ । बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।
साथै, पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारीका लागि कार्यदल पनि गठन गरेको छ । कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।
यता, बाबुराम भट्टराई भट्टराईले भने यो घटनालाई राजनीतिक ठगी भन्नुभएको छ । उहाँले यस विषयमा पार्टीमा छलफल गर्नै बाँकी रहेको भन्दै प्रधानमन्त्रीकै उपस्थितिमा पार्टी एकता भन्नुलाई राजनीतिक ठगी र नैतिकताको खडेरीको रुपमा टिप्पणी गर्नुभएको छ ।