काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सहकारी सुन प्रकरणमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म आफूहरुले विरोध गरिरहने बताउनुभएको छ ।
प्रतिनिधि सभाको हिजोको बैठकमा पनि नेता पौडेलले चौतर्फी विवादको घेरामा रहेका गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछोनेले तत्काल राजिनामा दिनुपर्ने माग गर्नुभएको थियो ।
अनुसन्धानको घेरामा रहेका व्यक्तिलाई अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने पौडेलको भनाइ छ । देशभरका विभिन्न सहकारीबाट पीडित बनेका ७३ लाख बचतकर्ताले आफूहरुको बचत फिर्ता दिलाउन माग गरिरहेको र उक्त सहकारीबाट ठगि भएको प्रकरणमा गृहमन्त्री पनि जोडिएको भन्दै यसमा सरकार पनि गम्भीर हुनुपर्ने पौडेलले बताउनु भयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चित्तबुझ्दो जवाफ दिनुपर्ने बताउँदै प्रधानमन्त्रीको जवाफमा गृहमन्त्रीको राजीनामा निर्भर रहने स्पष्ट पार्नुभएको छ ।
तर सरकार जवाफ दिनुभन्दा प्रतिपक्षलाई पेलेर जाने, जवरजस्ती गर्नेतर्फ गएको आरोप लगाउँदै राष्ट्र र सरकारका कामकारवाहिका विषयमा प्रतिपक्षले जवाफ माग्दा पनि प्रधानमन्त्रीले किन नदिएको भन्दै प्रश्न समेत गर्नुभएको छ ।
गृहमन्त्री रवि लामिछानेले नहिजो नै कांग्रेसले उठाएका विषयमा जवाफ दिन तयार रहेको बताउनुभएको थियो तर कांग्रेसले गृहमन्त्रीसँगै जोडिएको विषय भएकाले उहाँबाट नभई प्रधानमन्त्रीबाट जवाफ चाहेको नेता पौडेलको भनाइ रहेको छ ।