काठमाडौं । पत्रकार सतीश चापागाई एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटरमा नियुक्त हुनुभएको छ । एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर अर्जुन बन्जाडेले चापागाईलाई नियुक्त गर्नुभएको हो ।
पत्रकार चापागाई सन् २०१९/०२१ कार्यकालमा पनि मिडिया कोअर्डिनेटर नियुक्त हुनुभएको थियो । उक्त कार्यकालमा मिडियाहरुसंग राम्रो समन्वय राखेको एनआरएनए गतिविधि सदस्यहरु समक्ष प्रभावकारी रुपमा सम्प्रेषण गरेको भनेर प्रशंसा हुने गरेको छ ।
नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक र संचालक समेत रहेका चापागाई आफ्ना साहित्यिक सिर्जनाका कारण पनि चर्चामा रहन्छन् ।
सन् २००८ मा अमेरिका आएका चापागाई २०१४ देखि एनआरएनएमा आवद्ध व्यक्ति हुनुहुन्छ । नेपालमा झण्डै १२ बर्ष सक्रिय पत्रकारिता गरेका चापागाईले रेडियो नेपाल, नेपाल समाचारपत्र दैनिक लगायतका राष्ट्रिय र पाल्पा टाईम्स, जनसंघर्ष नवजनचेतना, गांउले देउराली, नेतृत्व साप्ताहिक लगायतका स्थानीय मिडियाहरुमा काम गरेका थिए । उनले श्रीनगर , पश्चिमान्चल र आंधिखोला एफएमहरुमा पनि नेतृत्वदायी भूमीका खेल्नुभएको थियो ।
“एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर नियुक्त गर्नुभएकोमा अध्यक्ष डाक्टर अर्जुन बन्जाडे र सिंगो टिमप्रति आभारी छु ।” चापागाईले भन्नुभयो, ”सदस्यहरुले सहि सूचना सहि समयमा पाउनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसका लागि अमेरिकामा सक्रिय मिडिया र मिडियाकर्मीहरुसंग मिलेर काम गर्नेछु ।”