रुपन्देही।कोरोना संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं. ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।
कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुुभएको छ ।
डा. गौतमका अनुसार उनी फोक्सोका दीर्घ रोगी थिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार उनको मृत्युसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या रुपन्देहीमा ५६ र लुम्बिनी प्रदेशमा १४१ पुगेको छ ।
यता, होम आइसोलेसनमा बसेका दाङका एक संक्रमितको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ घर भइ हाल घोराही–१५ स्थित आफ्नै घरमा बसेका संक्रमित ५३ वर्षीय पुरुषको हिजो मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीले जानकारी दिएको छ ।
मालपोत कार्यालय घोराहीका कर्मचारी ती पुरुषमा गएको कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएदेखि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।