काठमाडौं । दशैको महाअष्टमीको दिन नेपालीहरुले धेरै मासु खाने चलन भएपछि धेरै मासु खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुले बताएका छन् ।
उनीहरुले सामान्य अवस्थामा समेत धेरै खान नहुने मासु महामारीको बेलामा त झन न्युनिकरण गर्नु पर्नेमा जोड दिएका छन् ।
डा सुर्य देवकोटाले भन्नुभयो, “मासु खाने हैन चाख्ने चिज हो, थोरै स्वाद लिन मात्रै चाख्ने गर्नुपर्दछ, धेरै खायो भने धेरै हानि गर्छ । उहाँले मासु खानै हुन्न भन्ने पक्षमा भने आफु नहरेको स्पष्ट पार्नुभयो ।
मुटु रोग विशेष समेत रहनु भएका डा देवकोटाले नेपालीहरुको धेरै मासु खाने बानी रहेकाले धेरै रोगको डर रहेको बताउनुभयो ।
बाहिरबाट काटेको मासु ल्याउदा अहिले कोरोना सर्न सक्ने खतरा बढी रहेकाले सकेसम्म घरमै व्यवस्था गर्न सकेमा सुरक्षित र स्वस्थकर हुने उहाँको भनाई छ ।
काटेको मासु धेरै दिन राख्ने, पकाएपछि पनि बासी खाने, फ्रिजमा खुल्ला राख्ने गर्दा पेट दुख्ने, फुल्ने, झाडापखाला, आउँ, ‘फुड पोइजनिङ’ लगायतका विभिन्न किसिमका स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले त्यस्तो नगर्न पनि डा देवकोटाले सुझाव दिनुभयो ।
त्यसैगरी डा अरुण उप्रेतिले स्वस्थ मानिसले एक हप्तामा एकदेखि दुई छाक भोजनमा मासु समावेस गर्दा राम्रो हुने बताउनु भयो । दिनभरमा १०० देखि १५० ग्रामसम्म स्वस्थ मानिसले मासु खान उपयुक्त मानिने उहाँले जानकारी दिनुभयो ।
मोटोपना भएकाहरुलाई एकपटकमा बढीमा तीन देखि चार पिस मासु खाँदा राम्रो हुने डा उप्रेतीले सुझाव दिनुभयो ।
चाडपर्वका नाममा दीर्घरोगीले मासु खाँदा विष सेवन जस्तै बन्न सक्ने हुँदा समेसम्म दीर्घरोगी शाकाहारी नै बन्नु राम्रो हुन्छ, उहाँले भन्नुभयो ।
मासुका परिकार बनाउँदा प्राय तेलमा तारेको, भुटेको, सेकाएको र मसालेदार मासु खाँदा स्वास्थ्यलाई झन खतरा हुने चेतावनी पनि उहाँले दिनुभयो ।