काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा सोमबार ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८/८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५/५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।
थप एकको मृत्यु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप एक जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । बाग्लुङका २९ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको हो । बाग्लुङको निसिखोला गाउँपालिका ३ का २९ वर्षीय पुरुषको २१ गते क्वरेण्टीनमा मृत्यु भएको हो ।
भारतबाट क्षयरोगको उपचार गराएर फर्किनुभएका उहाँको ढोरपाटन नगरपालिकाको क्वरेण्टीनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।