काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजकिशोर यादवले राष्ट्रिय सभाको अध्यक्षका लागि हुने निर्वाचनमा पक्ष या विपक्ष कता मतदान गर्नेबारेमा पार्टीले आधिकारिक निर्णय लिइनसकेको बताउनुभएको छ ।
आफूहरु प्रचण्ड नेतृत्वको सरकारमा भएकाले गठबन्धनबाट उम्मेदवार बनेका नारायण दाहालको पक्षमा मतदान गर्नुपर्ने भए पनि अहिले नै आधिकारिक निर्णय नभएकाले पार्टीको बैठक बसेर यसबारेमा अन्तिम निर्णय गरिने नेता यादवले स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ ।
आज बिहान ११ बजेर ९ मिनेटको समयमा बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्षको निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ ।
निर्वाचन प्रक्रिया अन्तर्गत सोमबार उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहाल र नेपाली काँग्रेसबाट सांसद युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहनुभएका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारेमा पनि औपचारिक निर्णय नभएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत दिने या के गर्ने भन्नेबारे आज दिउँसो बस्ने जसपा संसदीय दलको बैठकबाट आधिकारिक निर्णय गरिने नेता यादवको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकारमा जसपाबाट दुई मन्त्री तथा एक राज्यमन्त्री छन् ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री, नेता नवलकिशोर साह वन तथा वातावरण मन्त्रालयमा छन् भने दीपक कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रुपमा छन् ।